Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनावी रणभूमिमा ओली र बालेन : जारी छ झापा ५ का मतदाताको परीक्षा

चुनावी रणभूमिमा ओली र बालेन : जारी छ झापा ५ का मतदाताको परीक्षा

काठमाडौँ । झापा–५ को निर्वाचन यसपटक सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा फरक देखिन थालेको छ। नेकपा ९मालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सक्रिय उपस्थितिले दमकलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनाएको छ। दुई फरक पुस्ता, फरक राजनीतिक पृष्ठभूमि र फरक शैली बोकेका यी नेताहरूको भिडन्तले यो निर्वाचनलाई विशेष महत्व दिएको छ।

ओली नेपाली राजनीतिका अनुभवी, स्थापित र सत्ताको केन्द्रमा बसेर काम गरिसकेका नेता हुन्। उनले विकास, स्थायित्व र राष्ट्रिय स्वाभिमानको नारा बोकेर लामो समयदेखि आफ्ना समर्थकहरू तयार पारेका छन्। दमक उनको राजनीतिक आधार क्षेत्र भएकाले यहाँ उनको संगठनात्मक पकड बलियो मानिन्छ।

अर्कोतर्फ, बालेन परम्परागत राजनीतिभन्दा बाहिरबाट उदाएका युवा पुस्ताका प्रतिनिधि नेता हुन्। काठमाडौं महानगरपालिकाको नेतृत्वबाट चर्चामा आएका उनले पुरानो राजनीतिप्रति असन्तोष बोकेका मतदातालाई आकर्षित गर्दै आएका छन्। उनी वैकल्पिक राजनीतिक धारमा अग्रपंतिमा देखिएका छन्  ।
  

ओलीको अभियान मुख्यतः विकास, पूर्वाधार र निरन्तरताको वरिपरि घुमेको देखिन्छ। सडक, जग्गाधनी प्रमाणपत्र, रङ्गशाला जस्ता भौतिक संरचनालाई उनले आफ्नो राजनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।  

तर, बालेन शाहको अभियानमा अझै स्पष्ट नीतिगत दस्तावेजभन्दा ‘सुशासन’, ‘व्यवस्थागत सुधार’ र ‘पुरानो राजनीतिक संस्कृतिको अन्त्य’ जस्ता नाराको प्रभाव बढी देखिन्छ। यसले युवा तथा परिवर्तन चाहने वर्गलाई आकर्षित गरेको देखिन्छ ।  

दमक र झापा क्षेत्र ऐतिहासिक रूपमा एमालेको प्रभाव क्षेत्रमा मानिँदै आएको क्षेत्र हो । यहाँका धेरै मतदाताले ओलीलाई आफ्नो “स्थानीय नेता” को रूपमा हेर्दै आएका छन् । 

तर पछिल्ला वर्षहरूमा बेरोजगारी, महँगी, सेवा प्रवाहको कमजोरी र राजनीतिक अस्थिरताले जनतामा निराशा बढाएको छ। यही असन्तोषलाई बालेनले राजनीतिक पूँजीका रूपमा प्रयोग गरिरहेका छन्।

यस चुनावमा यहाँका मतदाता स्थायित्व र परिचित नेतृत्व रोज्ने कि जोखिम मोलेर नयाँ विकल्पलाई अवसर दिने भन्ने निर्णायक मोडमा पुगेका छन्।

यस निर्वाचनमा ओली र बालेन दुवै मिडियाका ‘हट केक’ बनेका छन्। समाचार, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा उनीहरूकै चर्चा बढी छ। यसको परिणामस्वरूप अन्य उम्मेदवारहरू ओझेलमा परेका छन्।

गृहप्रशासनले पनि झापाको सुरक्षा व्यवस्थापन कडा बनाएको छ ।  यहाँ यदि ओली विजयी भए भने, परम्परागत दल र अनुभवी नेतृत्वप्रतिको जनविश्वास अझै कायम रहेको सन्देश जानेछ। यदि बालेन सफल भए भने, यो स्थापित राजनीतिक संरचनाप्रति जनताको असन्तोष र वैकल्पिक राजनीतिप्रतिको चाहनाको प्रतीक हुनेछ।

दुवै अवस्थामा, यो निर्वाचनले भविष्यको राजनीतिक प्रवृत्ति निर्धारण गर्नेछ ।
दमकको चुनाव केवल एउटा क्षेत्रको प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो अनुभव र परिवर्तनबीचको जनमत संग्रहजस्तै बनेको छ। ओली र बालेनको टक्करले नेपाली राजनीतिमा पुस्तागत, वैचारिक र शैलीगत परिवर्तनको संकेत गरिरहेको छ।

अब अन्तिम निर्णय मतदाताको हातमा छ । उनीहरूले परिचित बाटो रोज्छन् कि नयाँ दिशातर्फ कदम चाल्छन् । यसले मुलुकको राजनीतिक यात्राले पनि नयाँ मोड लिनेछ।