Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । उनले बदलिएको कांग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने उल्लेख गरे ।

बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सारे । विदेशमा रहेका नेपालीले १००० देखि २५००० अमेरिकी डलरसम्म लगानी गर्न सक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल ड्याम बन्ने उनको परिकल्पना छ ।

तीन सिफ्टमा निर्माण कार्य

धनी देशहरू राति पनि काम गर्ने तर नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्न शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना सुनाए । अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर ३ वर्षमा सकिने काम १ वर्षमै सम्पन्न गरी लागत घटाउने उनको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

कांग्रेसको कुनै पनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति उनले घोषणा गरे । साथै, अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको रोस्टर बनाएर नियुक्ति गरिनुपर्नेमा उनले जोड दिए ।

शर्माले नेतृत्व हस्तान्तरणका लागि फर्मुला पनि प्रस्तुत गरे । १ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, ३ पटकभन्दा बढी मन्त्री हुन नपाउने र ४ पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । आफैँ पनि झापाबाट समानुपातिकमा नबसी अवसर हस्तान्तरण गरेको उनको भनाइ छ ।

शर्माले चितवनका तीनवटै क्षेत्रमा कांग्रेसका उमेदवारहरू (टेकप्रसाद गुरुङ, मिना खरेल र राजेन्द्र बुर्लाकोटी) लाई जिताउन अपिल गरे । जनताले दिने यो मतले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन योगदान गर्ने उनको भनाइ छ । युवा र अनुभवको सम्मिश्रणबाट कांग्रेसले देश बदल्ने शर्माले दाबी गरे ।

बारम्बार प्रधानमन्त्री भइरहने पुराना अनुहार र ५ वर्षका लागि मेयर छानिएका व्यक्तिहरू बीचमै पद छाडेर अर्को पदमा दौडिने प्रवृत्तिमाथि उनले प्रश्न उठाए । नेतृत्व भनेको जमेको पोखरी नभई बगिरहेको नदी हुनुपर्ने उनको तर्क थियो ।