Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता: गुल्मी–२ का उम्मेदवार श्रीराम महतको प्रतिबद्धता

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता: गुल्मी–२ का उम्मेदवार श्रीराम महतको प्रतिबद्धता

गुल्मी। नेपाली कम्युनिष्ट पार्टीका गुल्मी क्षेत्र नम्बर–२ का उम्मेदवार श्रीराम महतले भ्रष्टाचार अन्त्य गर्न शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गुल्मी–२ अन्तर्गत विभिन्न वडाहरूमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका उम्मेदवार महतले देशको विकास, सुशासन र जनताको विश्वासको मुख्य बाधक भ्रष्टाचार रहेको भन्दै त्यसको अन्त्यका लागि आफू संसदमा पुगेर कानुनी तथा नीतिगत पहल गर्ने बताएका हुन्।

घरदैलो अभियानका क्रममा स्थानीय किसान, युवा, महिला तथा सर्वसाधारणसँग संवाद गर्दै उनले जनताको समस्या, दुःख र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे। किसान र जनताको पक्षमा सधैं रहने प्रतिबद्धता उम्मेदवार महतले आफू किसान र आम नागरिकसँग सधैं रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको आवाज संसदमा पुर्याउनु मेरो मुख्य जिम्मेवारी हुनेछ। किसान र मजदुरको समस्या समाधान बिना समृद्धि सम्भव छैन,” उनले भने। उनले ग्रामीण क्षेत्रका किसानले भोग्दै आएका मल, बीउ, सिंचाइ, बजार र मूल्य निर्धारणको समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए। गुल्मी जिल्लामा पछिल्लो समय बाँदर र बँदेलको आतंकले किसानको बालीमा ठूलो क्षति पुर्याउँदै आएको जनगुनासोप्रति ध्यानाकर्षण गर्दै उम्मेदवार महतले आफू सांसदमा पुगेपछि यस विषयमा विशेष कानुन निर्माणका लागि पहल गर्ने बताएका छन्।

उनले जंगली जनावरबाट बाली जोगाउने नीति, क्षतिपूर्ति व्यवस्था, नियन्त्रण तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन संसदमा आवाज उठाउने बताए। “किसानले खेतबारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। यसको स्थायी समाधान कानुनबाट मात्रै सम्भव छ,” उनले जोड दिए। उम्मेदवार महतले गुल्मी–२ क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि प्रवर्द्धन र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले युवालाई विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने नीति ल्याउने बताए। भ्रष्टाचारमुक्त स्थानीय विकास, पारदर्शी बजेट कार्यान्वयन र जनताको प्रत्यक्ष सहभागितामूलक विकास मोडेल आफ्नो प्राथमिकता हुने उनको भनाइ छ। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार महतले सबै मतदातालाई नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। “तपाईंहरूको एक मतले भ्रष्टाचार विरुद्धको अभियान, किसानको अधिकार र स्थानीय विकासलाई गति दिनेछ,” उनले भने।

घरदैलो अभियानमा जनताको उत्साहपूर्ण सहभागिता घरदैलो अभियानमा स्थानीय जनताले उम्मेदवार महतसँग विभिन्न समस्या, सुझाव र अपेक्षा राखेका थिए। महतले ती सुझावलाई आफ्नो घोषणापत्रमा समेटेर संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय मतदाताले पनि जनमुखी, जिम्मेवार र समस्याबोध भएको नेताको आवश्यकता रहेको बताउँदै उम्मेदवार महतप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।