Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवासहित यी नेताले गगनलाई अझै स्वीकारेनन् सभापति, चुनावमा पनि छन् चुपचाप

देउवासहित यी नेताले गगनलाई अझै स्वीकारेनन् सभापति, चुनावमा पनि छन् चुपचाप

काठमाडौं । देशभर निर्वाचनको सरगर्मी बढ्दै जाँदा अधिकांश राजनीतिक दल सक्रिय रूपमा प्रचार–प्रसारमा जुटिरहेका छन् । तर, सत्तारुढ नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरू भने अस्वाभाविक रूपमा मौन देखिएका छन् । उनीहरू न त सामाजिक सञ्जालमा सक्रिय छन्, न त घरदैलो अभियानमा सहभागी भएका छन् । विशेष महाधिवेशनपछि उत्पन्न आन्तरिक असन्तुष्टि र मनोवैज्ञानिक दबाबका कारण उनीहरू अझै ‘राजनीतिक ट्रमा’बाट मुक्त हुन नसकेको देखिन्छ ।

यद्यपि, ती नेताहरूले निर्वाचनविरोधी कुनै अभिव्यक्ति भने दिएका छैनन्, चुपचाप छन् । तर, पार्टी र उम्मेदवारको पक्षमा खुलेर समर्थन जनाउने गतिविधिमा पनि उनीहरू देखिएका छैनन् । निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्ण सिटौला लगायतका नेता हालसम्म चुनावी कार्यक्रममा देखिएका छैनन् । उनीहरूले सार्वजनिक रूपमा मतदातालाई अपिलसमेत गरेका छैनन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं–१ बाट लगातार चारपटक निर्वाचित भएका नेता हुन् । तर, यसपटक उक्त क्षेत्रमा पार्टीले महाधिवेशन प्रतिनिधि प्रवल थापालाई उम्मेदवार बनाएको छ । थापा यसअघि सिंहको सचिवालयमा रहेर काम गरेका व्यक्ति हुन् ।

टिकट पाएपछि थापा सिंहसँग आशीर्वाद लिन चाक्सीबारी पुगेका थिए । सिंहले उनलाई जितको शुभकामना दिएको निकट स्रोतले जनाएको छ । “असहयोग हुँदैन, तर अहिले प्रचारमा निस्कने वातावरण छैन,” सिंह निकट नेताको भनाइ छ । थापाले भने सिंह चुनावी अभियानमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि र पार्टी संरचनाले प्रचारको नेतृत्व गरिरहेको उनको भनाइ छ । 

निवर्तमान सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनपछि सार्वजनिक रूपमा निकै कम देखिएका छन् । चुनावी प्रक्रिया सुरु भएपछि पनि उनले उम्मेदवार चयनमा प्रत्यक्ष दबाब नदिएको बताइन्छ । हाल उनी अनौपचारिक भेटघाटमै सीमित छन् । ओली र प्रचण्डसँग भेट भएको भन्ने अपुष्ट खबर सार्वजनिक भए पनि देउवाको सचिवालयले खण्डन गरेको थियो । उनले भेटघाटलाई प्रचार नगर्न आग्रह गर्ने गरेकाले पछिल्लो समय सार्वजनिक तस्बिर र गतिविधि घटेका छन् ।

पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि चुनावी अभियानबाट टाढै छन् । काठमाडौंमै रहेका उनी उम्मेदवार चयनपछि नवलपुर पुगेका छैनन् । २०६४ देखि २०७९ सम्म लगातार चारपटक निर्वाचित कोइरालालाई यसपटक पार्टी नेतृत्वले उम्मेदवारी नदिन आग्रह गरेको थियो । 

अन्ततः टिकट नपाएपछि उनी असन्तुष्ट देखिएका छन् । नवलपुर–१ मा कांग्रेसले बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । उनका स्वकीय सचिव भरत तिवारीका अनुसार औपचारिक प्रचार सुरु भएपछि कोइराला नवलपुर पुगेर मतदातासँग भेटघाट गर्ने तयारीमा छन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । टिकट वितरण सुरु भएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए । हाल उनी कुनै पनि चुनावी कार्यक्रममा सहभागी छैनन् । उनको क्षेत्र सुर्खेत–२ मा उनका भाइ विष्णुबहादुर खड्कालाई टिकट दिइएको छ ।

यसैगरी, पूर्वमहामन्त्री कृष्ण सिटौला पनि चुनावी अभियानबाट टाढा छन् । झापा–३ मा उनी हालसम्म पुगेका छैनन् । अघिल्लो चुनावमा पराजित भएका सिटौला हाल राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता छन् । 

कांग्रेसका प्रभावशाली नेताहरूको मौनताले पार्टीभित्र आन्तरिक असन्तुष्टि अझै समाप्त नभएको संकेत गर्दछ । चुनावी समयमा नेतृत्व तहको निष्क्रियताले स्थानीय तहमा कार्यकर्ताको मनोबल कमजोर पार्न सक्ने चिन्ता पनि देखिएको छ ।