गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ को लोक्पा गाउँका बासिन्दा प्रत्येक चुनावमा चारदेखि पाँच घण्टासम्म पैदल हिँडेर भोट हाल्न जान्छन् । भोट हाल्न भीरको बाटो घण्टौँ पैदल हिँडेर जानुपर्ने बाध्यता भएकाले गाउँलेहरुलाई चुनावी उत्साहले नछोएको लोक्पा गाउँका स्थानिय सेराप गुरुङ बताउँछन् ।
लोक्पा गाउँका बासिन्दा मतदान गर्न चुमनुब्री–६ स्थित सिप्चेत आधारभुत विद्यालय, सिप्चेतसम्म पैदल हिँडेर जानुपर्छ । २० घरधुरी भएको लोक्पाबाट सिप्चेत पुग्न युवाहरुलाई चारदेखि पाँच घण्टासम्म लाग्ने गुरुङको भनाइ छ । लोक्पा गाउँमा स्थानीयहरुलाई दिनै मारेर भोट हाल्न जानुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।
‘हाम्रो गाउँमा मतदान केन्द्र राख्ने ठाउँ नभएको होइन । यहाँ पनि सार्वजनिक संरचनाहरु त छन् तर हामी प्रत्येक निर्वाचनमा दिनै मारेर भोट हाल्न जानुपर्ने बाध्यता छ’, गुरुङले भने, ‘गाउँमै मतदान केन्द्र स्थापना गरिदिए गाउँलेलाई धेरै राहत हुने थियो ।’ निर्वाचनमा हिँड्न सक्ने युवाहरु मात्र सहभागी हुने अरु भोट हाल्न नजाने गरेको उनले बताएका छन् ।
उनी भन्छन्, ‘बुढाखाडालाई बोकेर भोट हाल्न लैजान पनि बाटो अप्ठ्यारो छ । हिँड्न सक्ने मात्र जान्छौँ ।’ सोही वडाको यार्चोक गाउँका बासिन्दा पनि भोट हाल्न दुई घण्टा पैदल हिँडेर चुम्चेत मतदान केन्द्र पुग्नुपर्ने बाध्यता रहेको गुरुङले जनाए । उत्तरी भेगमा बासिन्दाहरु प्राय यसरी नै दुई–चार घण्टा हिँडेर मतदान गर्न जाने गरेको उनको भनाइ छ ।
चुमनुब्री–५ को सेराङ गाउँका बासिन्दा पनि मतदान गर्न चार घण्टासम्म पैदल जानुपर्ने त्यहाँका वडाअध्यक्ष काल्देन छेवाङ बताउँछन् । सेराङ गाउँको १५–१६ घरधुरीका बासिन्दाहरुको मतदान केन्द्र सोही वडाको बिहीस्थित गुम्बा हिमाली आधारभुत विद्यालयमा रहेको छ । सेराङमा प्राय बृद्धबृद्धाहरु रहेकाले उनीहरुलाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने गरेको वडाअध्यक्ष छेवाङले बताएका छन् । ‘हिँड्न सक्नेहरु मतदान गर्न आउलान्, नसक्ने नआउलान्’, उनले भने ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ लाक्पाल गाउँका बासिन्दाले पनि प्रत्येक निर्वाचनमा भोट हाल्न सास्ती खेप्दै आएका छन् । करिब २० घरधुरी रहेको लाक्पालका बासिन्दा साँढे तीन घण्टाको पैदल बाटो हिँडेर पार्वती आधारभुत विद्यालय उहियाँमा भोट हाल्न जानुपर्ने बाध्यता रहेको स्थानीय जीतमान गुरुङले बताएका छन् ।
गाउँबाट दोभान झरेर मोटबाटो उहिया पुग्न एक दिन पुरै लाग्ने र पैदल जाँदा तीन–चार घण्टामा पुग्ने भएकाले स्थानीयहरु पैदल हिँडेर मतदान गर्न जाने गरेको गुरुङले जानकारी दिए । ‘भोट हाल्न टाढा पुग्नुपर्ने भएकाले यो गाउँको आधाजसो बासिन्दाले मात्र भोट हाल्छन्’, उनले भने, ‘सबैजनाको बस्तुभाउ छ । घरबाट एकजना भोट हाल्न गएपनि अर्को त बस्तु हेर्न बस्नै प¥यो । बृद्धबृद्धा पनि भोट हाल्न जाँदैनन् । बाटो लामो र अप्ठेरो छ, उनीहरुलाई बोकेर लान पनि सम्भव हुँदैन् ।’
मतदान गर्न जान आउनलाई एक दिन पुरै लाग्ने भएकाले गाउँका ५० प्रतिशत मतदाताहरु मात्र मतदानमा सहभागित हुने गुरुङले जनाए । गाउँ गाउँमा मतदान केन्द्र स्थापना भए विकट गाउँबस्तीका मतदाताहरुलाई सहज हुने उनको भनाई छ ।