काठमाडौं । जिल्ला निर्वाचन कार्यालय,काठमाडौंले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सबै सरोकारवालालाई सचेत गराएको छ। राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न आग्रह गरिएको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ अनुसार उल्लंघन हुने गतिविधिमा संलग्न नहुन कार्यालयले स्पष्ट चेतावनी दिएको छ। साथै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिनअघि मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइने व्यवस्थाको पालना गर्न पनि ध्यानाकर्षण गराइएको छ।
तोकिने अवधिभन्दा अघि जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम नगर्न आग्रह गर्दै यस्ता कार्य गरे कानूनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयले जनाएको छ।