काठमाडौँ । काठमाडौंमा वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेहरू ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ हुन्। रुपेश काभ्रेको पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएका छन् भने हिरा तामाङ धादिङको खनेबास घर भई काठमाडौं तारकेश्वर नगरपालिका–६ मा बस्दै आएका थिए।
प्रहरीका अनुसार रुपेशले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट ९ लाख रुपैयाँ लिएको र हिराले स्लोभाकिया पठाइदिने आश्वासन दिएर ८ लाख ५० हजार रुपैयाँ असुली ठगी गरेको खुलेको छ। आकर्षक तलबको लोभ देखाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।