काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका–११ भेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका बेला रोकायमाथि चितुवाले आक्रमण गरेको थियो। सूचना अधिकारी शिवबहादुर केसीले घटनाको पुष्टि गरेका छन्।
यसअघि गत ७ माघमा पनि सोही क्षेत्र आसपास तोरीबारीमा काम गरिरहेकी बारबर्दिया–११ बेलभारकी खिदनी थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
पछिल्लो समय बर्दियामा वन्यजन्तु आक्रमणका घटना बढ्दै गएका छन्। डिभिजन वन कार्यालयको तथ्यांकअनुसार साउनयता चितुवाको आक्रमणबाट छ जना, पाटेबाघबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।