Shares
Shares
काठमाडौँ । फागुन २१ मा अन्तरिक सरकारले प्रतिनिधिसभा निर्वाचन गराउँदैछ । निर्वाचन आयोगले आवश्यक प्रक्रियाहरु अन्तिम चरणमा पुग्न थालेको बताइसकेको छ ।
देशका १६५ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ तर, सबैभन्दा धेरै चर्चामा झापा ५ कै छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ५ मा काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)को आगमनले चुनावी माहोल तातेको हो ।
निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको बालेनले प्रतिस्पर्धा गर्ने भएपछि मतदातामा उत्साह देखिन्छ ।
२०६४ को संविधान सभा बाहेकका निर्वाचनमा सहजै चुनाव जित्दै आएका ओलीलाई बालेन आएपछि चुनौति थपिएको छ ।
पार्टी भित्रको आन्तरिक कलह ओलीका लागि अर्को चुनौती हो । पार्टीको जिम्मेवारी र राजकीय जिम्मेवारीलाई ओलीले आफ्नो क्षेत्र र झापालाई केन्द्रमा राख्दा नेतृत्व तहका नेता सन्तुष्ट छन् । तर तल्लो तहका कार्यकर्तामा असन्तोष र नैराश्यता देखिन्छ ।
नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू खुलेर बोल्ने आँट भने गर्दैनन् । एमाले नेताहरूले ओलीको रुखो शैली र पार्टी भित्र प्रतिस्पर्धा गर्ने समूहलाई गरेको व्यवहारका कारण रुष्ट छन् ।
यहाँका अधिकांश मतदाताले ओली वृद्ध भएका कारण अब युवा आउनुपर्ने बताइरहेका छन् । कतिपयले भने युवाको मत बालेनलाई र बुढापाकाको मत ओलीलाई जाने अड्कल पनि काटेका छन् ।
तर, यहाँ ओलीलाई आफ्नाबाटै खतरा छ । बालेनको चुनावी कमाण्डर सन्तोष दुलाल एमाले नगर अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । नगर अधिवेशनमा अध्यक्ष जितेका श्याम पौडेलले १६५ मत ल्याएका थिए । दोस्रो भएका भगवान बस्नेतले ७७ र तेस्रो युवराज घिमिरेले ७५ मत ल्याएका थिए । रास्वपा प्रवेश गरेका दुलालले २७ मत ल्याएका थिए ।
ओलीका आलोचक उनी बालेनलाई झापामा बोलाउने नेताहरू मध्येमा पर्छन् । त्यसो त बालेनको चुनावी अभियानमा पूर्व एमालेहरु नै सक्रिय छन् ।
एमालेको भातृ संगठन खेलकुद महासंघ प्रदेश सदस्य एवान केसी अहिले रास्वपाको चुनावी अभियानमा छन् । ओलीका लागि पहिलो चुनौती आफ्नै बोली र दोस्रो बालेन भएको एमाले दमकका नेताहरू बताउँछन् ।
कमल गाउँपालिकाका रास्वपा सभापति केदार चापागाईं पार्टीले वरिष्ठ नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर पठाउनु झापाका लागि गौरवको विषय भएको बताउँछन् ।
रास्वपा कार्यकर्ता खेम कार्की यसपटक उत्साह थपेको बताउँछन् । विगतमा ओलीलाई ओलीलाई प्रधानमन्त्री बनाउन लागेको तर यसपटक बालेनलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए ।
ओलीसँग स्थानीय भएको सुविधा छ, पटक पटक जितेका कारण देखाउनका लागि गरेका कामहरू पनि छन् । तर, बालेनसँग युवा जोश जागर भएका कारण प्रतिस्पर्धा राम्रो हुने अनुमान छ ।
२०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।
समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । रास्वपाको मत १८ हजार २ सय ५ मत थियो । रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो पटक करिब १० हजार मतदाता नयाँ छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209