काठमाडौँ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एयर इन्डिया र इन्डिगोका दुई यात्रुवाहक विमानको पखेटा आपसमा ठोक्किएको छ। इकोनोमिक टाइम्सका अनुसार दुवै एयरलाइन्सले अलग–अलग विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन्।
हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ६ई–७९१ अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको बेला मुम्बईबाट कोयम्बतुर उडानको तयारीमा रहेको एयर इन्डियाको उडान एआई–२७३२ सँग ठोक्किएको हो। घटनाका बेला एयर इन्डियाको विमान ट्याक्सी–वेमा पालो पर्खेर बसेको बताइएको छ।
इन्डिगोका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। सबै यात्रु सुरक्षित रूपमा ओरालिएका छन् र विमानको मर्मत तथा प्राविधिक जाँच भइरहेको छ। घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको र अनुसन्धान अघि बढाइएको कम्पनीले जनाएको छ।
उता, एयर इन्डियाले पनि आफ्नो विमानको पखेटामा क्षति पुगेपछि उडान ढिलो भएको र थप प्राविधिक परीक्षणका लागि विमान ‘ग्राउन्डेड’ गरिएको जानकारी दिएको छ। टाटा समूहअन्तर्गतको एयरलाइन्सले यात्रुहरूलाई वैकल्पिक उडानमार्फत गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइरहेको जनाएको छ।