काठमाडौँ । केही समय स्वास्थ्य समस्याका कारण सार्वजनिक गतिविधिबाट टाढा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलिदेखि पुनः चुनावी प्रचारमा सक्रिय हुने भएका छन्। उनी भोलि आफ्नै निर्वाचन क्षेत्र चितवन पुगेर घरदैलो अभियान सुरु गर्ने तयारीमा छन्।
जनकपुरमा आयोजित चुनावी सभाका क्रममा देब्रे खुट्टामा चोट लागेपछि लामिछाने हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए। घाउमा भित्री संक्रमण (सेलुलाइटिस) देखिएपछि उनी अस्पताल भर्ना भई केही समय बेड रेस्टमा बसेका थिए। हाल संक्रमण नियन्त्रणमा आए पनि घाउ पूर्ण रूपमा निको भइसकेको छैन, जसका कारण उनलाई नियमित ड्रेसिङ गराउनुपरेको थियो।
स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनी लामो समय घरमै बस्न नचाहेको र जनतामाझ पुग्ने निर्णय गरेको बताइएको छ। यद्यपि चितवन पुगेपछि पनि उनी पूर्ण रूपमा सक्रिय नहुने र स्वास्थ्यअनुसार मात्र प्रचार कार्यक्रममा सहभागी हुने तयारीमा छन्। यस अभियानमा उनकी श्रीमती निकिता पौडेल पनि साथमा रहनेछिन्।
लामिछाने लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएपछि सामाजिक सञ्जालमा विभिन्न चासो र टिप्पणीहरू देखिएका थिए। तर पार्टीका अनुसार स्वास्थ्य कारणले विश्राम गर्नु परेको हो। माघ ५ गते जनकपुरमा लागेको चोटपछि केही दिन अस्पतालमै बसेका लामिछाने अब भने बिस्तारै चुनावी गतिविधिमा फर्किने योजनामा छन्।
रास्वपा आगामी चुनावमा नयाँ राजनीतिक शक्तिको रूपमा अघि बढ्दै बालेन शाहलाई भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। पुराना दलप्रति बढ्दो असन्तुष्टिका बीच आम नागरिकले नयाँ नेतृत्वप्रति आशा र भरोसा देखाइरहेका छन्।