Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार दिनेश सिटौलाको पोस्टमार्टम रिपोर्ट: कुनै चोटपटक नपाइएको पुष्टि

पत्रकार दिनेश सिटौलाको पोस्टमार्टम रिपोर्ट: कुनै चोटपटक नपाइएको पुष्टि

काठमाडौँ । बालेन शाहको चुनावी कार्यक्रममा हिँड्दा बेहोस भएर ढलेका पत्रकार दिनेश सिटौलाको पोस्टमार्टम रिपोर्टमा उनलाई कुनै चोटपटक नलागेको पाइएको छ। पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै सिटौलाको निधनलाई लिएर सामाजिक सञ्जालमा फैलिएका अफवाहहरू असत्य सावित भएका छन्।

उनको पोस्टमार्टम रिपोर्टले ग्राण्डी अस्पतालको आधिकारिक बयानलाई समर्थन गरेको छ। त्रिचिङ्ग अस्पतालमा गरिएको पोस्टमार्टमबाट शरीरमा कुनै चोटपटकको निशान नदेखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार, “बाहिर हल्ला चलेअनुसारको केही पनि नभएको, र शरीरको कुनै पनि अंगमा चोटपटक छैन।” रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा सहयोग गर्न अछाम पुगेका पत्रकार दिनेश सिटौला गाडीबाट ओर्लने क्रममा अचानक बेहोस भएर लडेका थिए। त्यसपछि उनलाई तत्कालै सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनलाई हिजो दिउँसो १२:४५ मा मृत घोषित गरेको थियो।

उनको निधनको सन्दर्भमा विभिन्न टिप्पणी र विवाद उत्पन्न भएपछि प्रहरीले परिवारजनलाई मृतकको शव पोस्टमार्टम गर्न सुझाव दिएको थियो। परिवारका सदस्यहरूले सुरुमा ग्राण्डी अस्पतालले नै मृत्युको कारण खुलाएर रिपोर्ट दिइसकेकोले पोस्टमार्टम नगराउने अडान लिएका थिए। तर, प्रहरीको आग्रहमा परिवारले पोस्टमार्टम गर्न तयार भएका थिए। ग्राण्डी अस्पतालले पनि पत्रकार सम्मेलनमा सिटौलाको शरीरमा कुनै चोटपटक नरहेको पुष्टि गरेको थियो।

ग्राण्डी अस्पतालको विज्ञप्ति अनुसार, अचानक बेहोस भएर ढलेपछि उनलाई जिल्ला अस्पताल अछाम पुर्‍याउँदाखेरी नै श्वासप्रश्वास रोकिएको थियो। अस्पतालमा लगातार ४५ मिनेटसम्म सीपीआर दिएपछि मुटुको चाल फर्किएको थियो। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष रहेका दिनेश सिटौला लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय थिए। उनको असामयिक निधनपछि चलचित्र क्षेत्र शोकमा डुबेको छ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हो। सिटौलाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा बालेन शाह पनि उपस्थित थिए।

अन्त्येष्टिपछि बालेन शाहले पत्रकार सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सिटौलालाई नेपाली चलचित्र क्षेत्रको अभिभावक र आफ्नो हितैषी मित्रको रूपमा सम्झने बताए। शाहले लेखेका छन्, “अलविदा दिनेश सिटौला।”