Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घण्टी बजाउँदै रास्वपा उम्मेदवार प्रकाश सपुतको बागलुङबाट चुनावी अभियान सुरु, घरदैलो अभियानमा सक्रिय

घण्टी बजाउँदै रास्वपा उम्मेदवार प्रकाश सपुतको बागलुङबाट चुनावी अभियान सुरु, घरदैलो अभियानमा सक्रिय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुत आफ्नो गृहजिल्ला बागलुङ पुगेर घण्टी बजाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा लागिरहेका छन्। अबका केही दिन उनी बागलुङमै घरदैलो अभियान सञ्चालन गर्ने जानकारी गराएका छन्।

सपुतले बागलुङ क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सोम शर्मालाई घरदैलो अभियानमा सहयोग गरिरहेका छन्। यसपछि उनी घरदैलोका लागि बझाङ र अछाम जाने कार्यतालिका रहेको बताएका छन्।

गायक हुँदै नायक बनेका प्रकाश सपुतले आफ्नो सांगीतिक यात्रालाई टुंग्याउँदै सक्रिय राजनीतिमा होमिएका छन्। हाल उनी आफ्नो जन्मथलो बागलुङमा बुढा आमाबुवाको आशीर्वाद लिँदै राजनीतिक अभियानमा जुटिरहेका छन्।

केही दिनअघि उनले बागलुङको पञ्चकोटधाम पुगेर पाँच हजार पाँच सय ५५ किलो तौलको महाघण्टी बजाउँदै औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नम्बर–१ बाट चुनावी अभियान थालेका हुन्।

गृहजिल्लाको पञ्चकोटबाट आशीर्वाद लिएर देशव्यापी रास्वपाको चुनावी अभियानमा लागेको बताउँदै सपुतले आफ्नो चुनावी यात्रा सुरु भएको जानकारी दिएका थिए। पार्टीले चुनावी प्रचारका लागि आफूलाई बागलुङ, बझाङ र अछाममा खटाएको र आवश्यकता अनुसार अन्य जिल्लामा समेत जाने जानकारी उनले गराएका छन्।

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा जन्मिएका प्रकाश सपुत पहिलोपटक राजनीतिक यात्राका लागि बागलुङ पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाश सपुतलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित समुदायबाट उम्मेदवार बनाउने निर्णय गरेको छ। कलाक्षेत्रमा सामाजिक विषयलाई सशक्त रूपमा उठाउँदै आएका सपुतको राजनीतिक प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब उनको भूमिका मनोरञ्जनभन्दा बाहिर, नीतिगत तथा प्रतिनिधित्वको क्षेत्रमा केन्द्रित हुने देखिन्छ।

राजनीतिक आवरणमा केही व्यक्ति र शक्तिले बन्धक बनाएको व्यवस्थालाई मुक्त गर्दै सुधार, विकास र समृद्धिको जिम्मेवारी लिनुपर्ने बेला आएको सपुतको धारणा छ। उनले आफू उक्त सुधार र समृद्धिको यात्रामा साथी र साक्षी बनेर खबरदारी गर्ने बताएका छन्।

नेता र निर्वाचनप्रति विश्वास कमजोर बनेको भए पनि नयाँ नेतृत्वप्रति ‘अन्तिम पटक’ भरोसा गर्ने मनस्थितिमा जनता रहेको उनको भनाइ छ। “जो आए पनि सबै उस्तै हुन्छन्” भन्ने मनोविज्ञान तोड्न नेतृत्वले आफू फरक किन हो भन्ने स्पष्ट पार्नुपर्नेमा उनले जोड दिएका छन्।