काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा यस पटकको चुनाव केवल प्रतिस्पर्धा होइन, राजनीतिक धार परिवर्तनको संकेतका रूपमा हेरिन थालेको छ। लामो समय एकै व्यक्तिको वर्चस्वमा रहेको यो क्षेत्र अब खुला मैदान बनेको छ, जहाँ सबैभन्दा आक्रामक रूपमा नेकपा एमाले अघि बढेको देखिन्छ।
एमालेले यस पटक बाहिरबाट होइन, यही क्षेत्रसँग जोडिएको अनुहारलाई अघि सारेको छ। चार्टर्ड एकाउन्टेन्ट तथा नेपाल अडिटर्स एशोसिएशनका पूर्व अध्यक्ष मोहनराज रेग्मीलाई उम्मेदवार बनाउँदै पार्टीले विकास, सुशासन र स्थायित्वलाई मुख्य एजेन्डा बनाएको छ। रेग्मी अहिले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवादमा छन्, जसले स्थानीय तहमा उल्लेख्य चर्चा पाएको छ।
काठमाडौँ–१ मा एमालेको इतिहास बलियो रहँदै आएको छ। मदन भण्डारीदेखि मनमोहन अधिकारीसम्मका नेताहरूले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिसँग जोडेका थिए। तर २०६४ पछि कांग्रेस नेता प्रकाशमान सिंहको निरन्तर जितले एमालेलाई पछाडि धकेलेको थियो। यस पटक सिंह चुनावी दौडमा नरहँदा राजनीतिक सन्तुलन फेरिएको छ।
कांग्रेसभित्र उम्मेदवार चयनलाई लिएर असन्तुष्टि देखिनु, राप्रपाका रविन्द्र मिश्रले विगतजस्तो जनसमर्थन नपाउनु तथा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको भीडले मत विभाजन हुने सम्भावनाले एमालेका लागि वातावरण अनुकूल बन्दै गएको छ।
यो क्षेत्रमा एमालेका मोहनराज रेग्मी,रास्वपाकी रन्जु न्यौपाने(रन्जु दर्शना), कांग्रेसका प्रबल थापा क्षेत्री, माओवादी केन्द्रकी मेनुका भण्डारी, राप्रपाका रविन्द्र मिश्रसहित विभिन्न दलका १६ उम्मेदवार र १३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
स्थानीय मतदातासँगको निरन्तर सम्पर्क, संगठित कार्यकर्ता परिचालन र घरदैलो अभियानमा देखिएको उत्साहका कारण काठमाडौँ–१ मा एमालेले आफ्नो हराएको आधार पुनः निर्माण गर्ने सम्भावना बलियो देखिन थालेको छ।