Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री र पालिकाका जनप्रतिनिधिले राजनीतिक दल/उमेदवारको प्रचार गर्न पाउँछन् ?

मन्त्री र पालिकाका जनप्रतिनिधिले राजनीतिक दल/उमेदवारको प्रचार गर्न पाउँछन् ?

काठमाडौं । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु भइसकेको छ । आचारसंहिता पालना गर्न आयोगले बारम्बार आग्रह गर्दै आएको छ । 

आचारसंहिता उल्लंघन गर्ने केही उमेदवार तथा प्रदेश मन्त्रीहरूलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ ।  

आयोगले कुनै मन्त्री वा स्थानीय पालिकाका जनप्रतिनिधि राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने प्रष्ट पारेको छ । 

तर, निर्वाचनमा आफैँ उमेदवार भएका मन्त्रीले आफू उमेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने प्रावधान छ । 

मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने आयोगले जनाएको छ ।

प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाउने आयोगले प्रष्ट पारेको छ । 

निर्वाचन प्रचारप्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।