Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुण्डा नाइकेको छविबाट एमालेको चुनावी उम्मेदवारसम्म: चक्रे मिलनको यात्रा

गुण्डा नाइकेको छविबाट एमालेको चुनावी उम्मेदवारसम्म: चक्रे मिलनको यात्रा

काठमाडौँ । गोर्खा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका मिलन गुरुङ उर्फ चक्रे मिलन अहिले सक्रिय रूपमा घरदैलो कार्यक्रममा जुटिरहेका छन्। अन्य नेताहरूले मुखले मात्र काम गर्ने र व्यवहारमा केही नगरेको आरोप लगाउँदै उनले यो पटक आफूलाई भोट दिन आग्रह गरिरहेका छन्।

प्रचण्ड, बाबुराम, माओवादी र कांग्रेस कसैले पनि जनताका लागि ठोस काम नगरेको दाबी गर्दै चक्रे मिलनले “यो पटक मलाई नै भोट दिनुस्” भन्दै जनताको घर–घर पुगिरहेका छन्। जोसुकै, जुनसुकै पार्टीबाट उठे पनि यसपटक आफूलाई मात्र भोट दिन र अरूलाई भोट माग्न नदिन समेत उनले मतदातासँग आग्रह गरिरहेका छन्।

उनको भोट माग्ने शैली अहिले निकै फरक र चासोको विषय बनेको छ। एक समय ‘गुण्डा’को छवि बनाएका चक्रे मिलन अहिले निकै शालीन र शान्त देखिन्छन्। मतदातासँग हात जोडेर विनम्रतापूर्वक भोट मागिरहेका उनी गोरखाका महिला समूह, आमा समूहदेखि वृद्धवृद्धासँग समेत चुनावी भेला गर्दै आएका छन्।

चक्रे मिलन भन्छन्, “गाउँका जेन्जीहरू सबै मेरा सपोर्टर हुन्। जेन्जीहरूको साथ पाएर म चुनाव लड्न आएको हुँ। मसँग आँट छ।” आफूलाई गुण्डा भन्ने आरोपको जवाफ दिँदै उनले भनेका छन्, “सिंहदरबार जलाउने, सहकारी ठग्ने र भ्रष्टाचार गर्ने नै असली गुण्डा हुन्। उमेरमा जसले पनि एक–दुई पटक झगडा गर्छ, मैले पनि त्यही बेला खुकुरी हानेको हो।”

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) ले गोर्खा निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोनयनपत्र दर्ता गराएका छन्। यस क्षेत्रमा सुरुमा १४ जनाको उम्मेदवारी परेको भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिइसकेका छन्। अबको चुनावमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन), नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

एमालेले उम्मेदवार बनाएका गुरुङ भने विगतदेखि नै विवादमा तानिँदै आएका पात्र हुन्। उनी पटक–पटक पक्राउ परेर हिरासत र जेलसमेत पुगेका छन्। पछिल्लो पटक गत साउनमा उनी महाराजगञ्जको एक होटलबाट पक्राउ परेका थिए। सर्वसाधारणलाई आतंकित पारेको आरोपमा पक्राउ परेका उनी सो मुद्दामा धरौटीमा छुटेका थिए।

त्यस्तै, भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी अर्को मुद्दामा पनि उनी धरौटीमा रिहा भएका थिए। प्रहरीको क्रिमिनल रेकर्डअनुसार उनीविरुद्ध अहिलेसम्म १२ पटकभन्दा बढी मुद्दा दर्ता भइसकेका छन्। पछिल्लो समय उनी जन्मदिन मनाइरहेका बेला एक होटलबाट पक्राउ परेका थिए।

भूतपूर्व गोर्खा आर्मीका छोरा चक्रे मिलनको स्थायी घर गोरखा सिरानचोक गाउँपालिका–५, छोप्राक हो। काठमाडौंमा भने उनी चक्रपथ–महाराजगञ्ज क्षेत्रमा बसोबास गर्थे। चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि विस्तार गरेपछि उनी ‘चक्रे’ नामले अपराधको दुनियाँमा चिनिन पुगेका थिए। एक समय दरबार निकट मानिने उनी २०४६ सालपछि नेकपा एमालेमा आबद्ध भएका हुन्।

विगत जस्तो भए पनि अहिले चुनावी उम्मेदवार बनेपछि चक्रे मिलनमा उल्लेखनीय परिवर्तन देखिएको स्थानीयहरू बताउँछन्। अहिले कसैले ‘गुण्डा नाइके’ भने पनि “म गुण्डा होइन” भन्दै उनी उल्टै आत्मविश्वासका साथ जवाफ दिने गरेका छन्।