Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिनेश सिटौलाको अवस्था गम्भीर, बालेन शाहले अस्पताल पुगेरै भेटे सिटौलाको परिवारलाई

दिनेश सिटौलाको अवस्था गम्भीर, बालेन शाहले अस्पताल पुगेरै भेटे सिटौलाको परिवारलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएर ढलेका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। अछाममा एक्कासी बेहोस भएपछि सिटौलालाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

आफूसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका साथी अस्पताल भर्ना भएपछि बालेन शाहले कर्णाली प्रदेशको यात्रालाई सुर्खेतबाट छोट्याउँदै शनिबार काठमाडौं फर्किएका थिए। यात्राका क्रममा अछाममा गम्भीर घाइते भई अस्पताल भर्ना गरिएका सिटौलाको परिवारलाई बालेनले दिउँसो १२ बजे ग्राण्डी अस्पतालमा भेट गरेका थिए। सिटौलाको अवस्था गम्भीर भएकाले प्रत्यक्ष भेट हुन नसकेपछि बालेनले उनका भाइ उमेश सिटौलासँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

बालेनले सिटौलाको अवस्था जटिल रहेको जानकारी पाएको भन्दै आइतबार बिहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए। चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार ग्राण्डी अस्पतालका चिकित्सकहरूले शनिबार दिनभरि स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने बताएका छन्।

नुवाकोट स्थायी घर भएका ४४ वर्षीय दिनेश सिटौला पेशाले चलचित्र पत्रकार हुन्। उनी बालेन शाहको चुनावी अभियान सुरुदेखि नै सँगै हिँडिरहेका थिए। सिटौला चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत हुन् भने फिल्मी अनलाइन द सिनेमा टाइम्स नेपालका सञ्चालक पनि हुन्।

अस्पताल स्रोतका अनुसार सिटौलालाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो। हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सिटौला बालेनसँगै कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा चुनावी कार्यक्रममा सहभागी भएका थिए। शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा उनी लडेर टाउकोमा चोट लागेको थियो।

यसैबीच, बालेन शाहले सबै कार्यक्रम स्थगित गरी शनिबार काठमाडौं फर्किएको रास्वपा नेत्री बिनिता कठायतले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै जानकारी दिएकी छन्। उनले साथी आईसियुमा भर्ना हुँदा कार्यक्रम गर्न नसक्ने भन्दै बालेन राजधानी फर्किएको बताएकी हुन्। साथै केही दिनपछि हुम्ला, जुम्ला र डोल्पाका नागरिकहरूसँग साक्षात्कार गर्न बालेन पुनः कर्णाली फर्किने जानकारी पनि दिएकी छन्।

हाल बालेन शाह केही दिन काठमाडौंमै रहने बुझिएको छ।