काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अब देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले नै लिने दाबी गरेका छन्। एक चुनावी कार्यक्रममा बोल्दै उनले मुलुकलाई अहिले ध्वंस र उत्तेजनाभन्दा पनि सम्हाल्ने, सच्याउने र सुधार गर्ने शक्तिको आवश्यकता रहेको बताए। उनका अनुसार त्यो क्षमता कांग्रेससँग मात्रै छ।
थापाले भने, “अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ। कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ। कांग्रेस आफू बदलिएर आएको छ, अब देशको अवस्था पनि बदल्छ।” उनले कार्यकर्ताहरूलाई अन्य उम्मेदवार र दलप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै पार्टीभित्र कुनै गुट नरहेको पनि स्पष्ट पारे।
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी मैदानमा उत्रिएको छ। थापाले उम्मेदवारी दिएका सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ भन्ने नारासहित प्रचार अभियान सुरु भइसकेको छ। सक्रिय राजनीतिमा करिब तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको देखिन्छ।
गगन थापाको राजनीतिक यात्रा त्रिचन्द्र क्याम्पसबाट नेविसंघको नेताका रूपमा सुरु भएको हो, जतिबेला उनी आईएस्सी अध्ययनरत थिए। गत भदौमा भएको ‘जेन–जी विद्रोह’पछि राजनीतिमा नयाँ पुस्ताको माग बढिरहेका बेला पुस २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चयन गरेको थियो।
आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ को प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ। उक्त क्षेत्रमा नेकपा एमालेबाट अमनिश कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिस राय उम्मेदवार छन् भने अमरेशकुमार सिंहले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। २०७९ को निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा अमरेशकुमार सिंह निर्वाचित भएका थिए।
नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन हुँदाहुँदै पनि २०७९ मा कांग्रेस यस क्षेत्रमा पराजित भएको थियो। यद्यपि, यसपटक पार्टी सभापति स्वयं उम्मेदवार बनेपछि सर्लाही–४ को चुनावलाई विशेष चासोका साथ हेरिएको छ।