काठमाडौँ । सरकारले नेपाल प्रहरीका लागि फागुन १ गतेदेखि लागू हुने गरी रासन स्केल बृद्धि गरेको बिषयलाई लिएर अन्यौलता श्रृजना भएको पाइएको छ ।
यस निर्णयपछि राशन वृद्धिको दर न्यून भएको भन्दै केही आलोचना भए पनि सरकारले अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा लामो समयदेखि रहँदै आएको असमानता हटाउने उद्देश्यले महत्वपूर्ण सुधार गरेको जनाएको छ ।
यसअघि राशन भत्ता वृद्धिको विषय प्रायः बजेट भाषणको समयमा मात्रै सुनिदै आएको थियो । तर यसपटक भने सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बलले पाउँदै आएका अन्डा, मासु र बिस्कुटका आइटम नेपाल प्रहरीको राशन स्केलमा पनि समावेश गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपाल प्रहरीका कर्मचारीले यी तीन वस्तुहरू राशनका रूपमा पाउनबाट बञ्चित हुँदै आएका थिए । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सक्रिय पहलपछि माघ १५ गते बसेको मन्त्रीपरिषद् बैठकले अन्य सुरक्षा निकाय सरह नेपाल प्रहरीको दैनिक राशन स्केलमा अन्डा, मासु र हाई–इनर्जी बिस्कुट थप गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै यसअघि १६ प्रकारका राशन सामग्री प्राप्त गर्दै आएका प्रहरी कर्मचारीले अब १९ प्रकारका सामग्री पाउने भएका छन् ।
चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम पुर्याइएको छ भने २५ ग्राम मासु, एक वटा अन्डा र हाई–इनर्जी बिस्कुट प्रतिदिन थप गरिएको छ । सरकारको यस निर्णयले नेपाल प्रहरीभित्र लामो समयदेखि उठ्दै आएको राशन सम्बन्धी असमानताको अन्त्य हुने अपेक्षा गरिएको छ ।