काठमाडौँ । सिरहामा दिनदहाडै गोली प्रहारबाट एक जनाको ज्यान गएको छ। सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन्।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार नजिकको आफ्नै खेतमा ट्र्याक्टर चलाएर जोतिरहेको अवस्थामा अचानक गोली प्रहार गरिएको थियो। गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला गोली हानी हत्या गरिएको खबर प्राप्त भएको र आफू थप विवरण बुझ्न अस्पतालतर्फ गइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली प्रहारकै कारण मृत्यु भएको देखिएको जानकारी दिए। तर कसले र किन गोली हानेको हो भन्ने विषय भने हालसम्म खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।