काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने प्रयोगकर्तालाई धमाधम ब्लक गर्न थालेका छन्। केही दिनअघि आफ्नो स्टाटसमा आलोचनात्मक कमेन्ट गर्नेहरूलाई उनले “यो भिडियो हेर्नुस् त” भन्दै एक–एक गर्दै जवाफ दिएका थिए। तर पछिल्लो समय भने उनले नकारात्मक टिप्पणी गर्ने प्रयोगकर्तालाई छानी–छानी ब्लक गर्न थालेका छन्।
यसक्रममा कमेडियन तथा राजनीतिक टिप्पणीकार हिमेश पन्तले समेत “अन्ततः केपी ओलीले मलाई ब्लक गरे” भन्दै फेसबुक स्टाटस लेखेका छन्। यस्तै, अन्य धेरै व्यक्तिहरूले पनि ओलीले आफूलाई ब्लक गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। जेन–जी आन्दोलनपछि ओलीविरुद्ध निरन्तर नकारात्मक कमेन्ट गर्ने ट्रेन्ड चलेको देखिन्छ। उनका फेसबुक पोस्टहरूमा अहिले ‘नो ओली, ओन्ली बालेन’ जस्ता नाराहरू मात्र देखिने गरेको छ।
पछिल्लो समय ओलीका फेसबुक पोस्टहरूमा लगातार आलोचनात्मक प्रतिक्रिया आउन थालेपछि उनले कमेन्टको जवाफ दिन सुरु गरेका थिए। कमेन्टमा रिप्लाई गर्दै उनले हेर्न आग्रह गरेको भिडियोमा जेन–जी आन्दोलनको दिन आफूले गोली चलाउन आदेश नदिएको स्पष्टिकरण दिएका छन्। तर अहिले आएर आलोचनात्मक कमेन्ट गर्नेहरूलाई उनले ब्लक गर्न थालेका हुन्।
गत भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा युवाहरूमाथि गोली चलाइएपछि नेपाली जनता ओलीप्रति आक्रोशित बनेका थिए। त्यसयता उनका सामाजिक सञ्जाल पोस्टहरू आलोचनात्मक टिप्पणीहरूले भरिँदै आएका छन्। ओलीले पटक–पटक आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन्। यद्यपि, हाल सामाजिक सञ्जालमा ठूलो हिस्सा उनको विपक्षमा देखिएको छ।
यसैबीच, देशमा चुनावी माहोल पनि तातेको छ। झापा क्षेत्र नम्बर ५ बाट निरन्तर चुनाव जित्दै आएका ओलीलाई यसपटक जित कठिन हुने आँकलन गरिएको छ। काठमाडौंका मेयर बालेन शाहले पदबाट राजीनामा दिएर झापा–५ बाट ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्। झापाका स्थानीय बासिन्दाहरू पनि “नयाँ शक्तिलाई पालो दिनुपर्छ” भन्दै बालेनको समर्थन गरिरहेको देखिन्छ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिएर सार्वजनिक बहस गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। सामाजिक सञ्जालमा ओलीको पोस्टमा कमेन्ट गर्दै बालेनले ओलीसँग एउटै मञ्चमा उभिँदा जेन–जी आन्दोलनमा ७६ जनाको हत्या भएको घटनामा आफू पनि सामेल भएको ठहरिने तर्क गरेका थिए। उनले ओलीलाई “देश जलाउने नेता”को रूपमा स्वीकार गर्नुपर्ने टिप्पणी समेत गरेका छन्।
बालेनका अनुसार २३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको आरोपसमेत लगाएका छन्। यसअघि ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको भन्दै स्टाटस लेखेका थिए। तर बालेनले उक्त प्रस्तावलाई सिधै अस्वीकार गरेका छन्। यसपटक ओली र बालेन एउटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धामा छन्।