काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा घरेलु विवादले भयावह रूप लिँदा एक युवतीको ज्यान गएको छ। श्रीमतीको हत्या गरेको स्वीकार गर्दै श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन्। घटनापछि उनी टिकाभैरव प्रहरी चौकीमा पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार दुवैले मदिरा सेवन गरेपछि भएको विवादका क्रममा विनादेले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। हत्या पछि खाटमा सुताएको अवस्थामा कोपिलाको शव फेला परेको हो। घटना शुक्रबार बिहान भएको प्रहरीले जनाएको छ।