Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियार आफैं सडकमा उत्रिइन्, हिउँ पन्छाउँदै जनसेवामा सक्रिय

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियार आफैं सडकमा उत्रिइन्, हिउँ पन्छाउँदै जनसेवामा सक्रिय

काठमाडौँ । रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) सीता परियार आफैं फिल्डमा खटिएर सडकमा जमेको हिउँ पन्छाइरहेको दृश्य यतिबेला चर्चामा छ। भारी हिमपातका कारण रुकुम पूर्वका विभिन्न सडक अवरुद्ध भएपछि जनताको आवतजावत सहज बनाउन उनी स्वयं सडक सफाइमा जुटेकी हुन्।

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सीता परियार बेल्चा चलाउँदै हिउँले पुरिएको सडक पन्छाइरहेको स्पष्ट देख्न सकिन्छ। सो भिडियोप्रति सामाजिक सञ्जालमा व्यापक रूपमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्। घाम–पानी, कठिन परिस्थिति नभनी जनसेवामा खटिएको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ।

भारी हिमपातका कारण यात्रुबाहक बसहरू समेत सडकमा अलपत्र परिरहेका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्रशासनिक टोलीसँगै सीता परियार स्वयं फिल्डमा खटिएकी हुन्। यही कारण उनी अहिले जनस्तरमा विशेष रूपमा चर्चामा आएकी छन्।

सीता परियार अहिले मात्रै चर्चामा आएकी पात्र भने होइनन्। उनी २०७८ सालमै दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेर इतिहास रचिसकेकी महिला हुन्। उनी कास्कीको रूपा गाउँपालिका–६ की स्थायी बासिन्दा हुन्। परियारले २०६८ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्।

गत भदौ महिनामा उनको रुकुम पूर्वमा सरुवा भएको थियो। यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिइन्। २०७८ साल फागुनमा उनी हुम्लाको प्रमुख जिल्ला अधिकारी बनेकी थिइन्। दलित समुदायबाट यसअघि पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा र सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका भए पनि सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ हुन्।

सीता परियारले भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेकी छन्। जनकपुरधाम उपमहानगरपालिकामा आउनुअघि उनले संवैधानिक आयोगको रूपमा रहेको मुस्लिम आयोगमा प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारीको जिम्मेवारी निर्वाह गरेकी थिइन्।

यसअघि उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा विकास शाखा प्रमुखको रूपमा पनि काम गरेकी छन्। संघीय संरचनाअघि उनी तत्कालीन जिल्ला विकास समिति भोजपुरकी स्थानीय विकास अधिकारी थिइन्।

सीता परियार नेपाल सरकारको निजामती सेवाको इतिहासमा राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवसम्म पुग्ने पहिलो दलित महिला पनि हुन्। शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएको उनको करिब १० वर्ष पूरा भइसकेको छ भने निजामती सेवामा प्रवेश गरेको १२ वर्ष पूरा भइसकेको छ।

जनताको सेवामा प्रत्यक्ष रूपमा मैदानमै उत्रिएर काम गर्ने सीता परियारको भूमिकाले प्रशासनिक नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको धेरैको भनाइ छ।