काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाहलाई टिकट किनबेचको खबर रास्वपा कार्यकर्ताबाटै पुगेको खुलेको छ। पार्टीका नेता अमरेश कुमार सिंहले एक अन्तरवार्तामा बताएका छन् कि मधेस प्रदेशमा टिकट किनबेचको आरोप चलेको थियो।
अमरेशले भने, पार्टी सभापतिले यसबारे थाहा पाएको र चुनावपछि त्यसको छलफल हुने भएकाले त्यस्ता गतिविधि गर्ने हरेकलाई कारबाही गरिनेछ। उनले रास्वपालाई कहिले पनि व्यापारीकरण र भ्रष्टीकरण हुन नदिने दाबी पनि गरेका छन्।
माघ ५ गते रास्वपामा प्रवेश गरेका सिंहले सभापति रवि लामिछाने र बालेन शाह निष्ठावान व्यक्ति भएको बताए। उनले भने, “म नाम लिँदिनँ, तर कयौँ व्यक्ति थिए जसले करोडौँ–करोड रुपैयाँ लिएर पार्टीबाट टिकट लिन प्रयास गरेका थिए। तर रवि लामिछाने र बालेन शाहको अडान र निष्ठाका कारण उनीहरूलाई टिकट दिइएको छैन। रास्वपालाई व्यापारीकरण गर्न पाइँदैन।”
सिंहले हरेक कुरालाई नकारात्मक रूपमा नलिनु पर्ने पनि जोड दिएका छन्। उनी फागुन २१ को निर्वाचनमा सर्लाही–४ बाट चुनाव लड्ने तयारीमा छन् र बालेन शाहलाई पनि सर्लाही लैजाने योजना बनाइरहेका छन्। यसले आफ्नो पक्षमा मधेसमा प्रभाव खडा गर्ने रणनीति हो।
सर्लाही–४ का निवर्तमान सांसद सिंह २०७० देखि २०७९ सम्म निरन्तर निर्वाचित भएका छन्। चौथो पटक जित्ने लक्ष्यसहित उनी कांग्रेस विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर कांग्रेसका नागेश कुमारलाई हराएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस सभापति गगन थापासँग चुनावी प्रतिस्पर्धामा छन्।
सिंहले मधेसका ३२ क्षेत्रमध्ये रास्वपाले कम्तीमा २० सिट जित्ने दाबी गरेका छन्। साथै उनले मधेसका जनता, युवा र विदेशमा रहेका नेपालीहरू बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको बताएका छन्। पछिल्लो समयमा मधेसमा “अब कि बार बालेन सरकार” भन्ने नारासहित प्रचार प्रसार भइरहेको छ।