काठमाडौँ । कमलविनायक बसपार्क नजिक आज भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी भक्तपुरका प्रमुख सुर्यबहादुर खड्काका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेपछि प्रदेश ०२–०२० प.११६८ नम्बरको स्कुटरसँग ठोक्कियो। त्यसै क्रममा प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुर–८ का २६ वर्षीय बिमल वनमालाको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकल चालक भक्तपुर–७ का २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएका छन्।