काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका युवराज सफल एक रातमै हिरासतबाट मुक्त भएका छन्। हिरासतबाट छुटेपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै “अमेरिका जाँदा पनि म जस्तो ‘बाघ’लाई खोरमा राख्न सकेनन्” भन्ने प्रतिक्रिया दिएका छन्। उनलाई सरकारी वकिल कार्यालयले हिजो हाजिरी जमानीमा छोडिदिएको हो।
युवराज सफललाई रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी विषयमा महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले उनलाई आवश्यक कानूनी कारवाही गरिदिन प्रहरीलाई पत्र पठाएको थियो। सोही आधारमा गत मंगलबार बिहान साढे १० बजे सिभिल ड्रेसमा आएका सीआइबीका प्रहरीहरूले उनको निवासमै पुगेर नियन्त्रणमा लिएका थिए।
हिरासत मुक्त भएपछि युवराज सफलले स्ट्याटसमा लेखेका छन्:
“जुल्फे एण्ड सुल्फे कम्पनीले भव्य खुशी मनायो। खसी, कुखुरा, माछा र बियर पनि खाएँ। कताकता मलाई अब धेरै वर्ष जेल जाने भनेर लेख्न भ्याए। तर २४ घण्टामा हिरासत मुक्त भएँ। जसरी बिर्को लागेको बट्टाभित्रको चिनीमा कमिलो प्रवेश गर्छ, त्यसैगरी म पनि बाहिर निस्किएँ। कागजी बाघलाई महिनौंसम्म खोरमा राख्न सकिन्छ, तर वास्तविक बाघलाई लामो समय थुन्न सकिँदैन। शाही अमेरिकी सरकारको एमसीसी विरोधी मलाई फसाउने प्रयास असफल भयो। विश्व शक्तिले हारेको छ, राष्ट्र र राष्ट्रियताले जितेको छ। म हिरासतबाट मुक्त भएको छु।”
युवराज सफलले रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनको विषयमा महान्यायाधिवक्ता सविता भण्डारी र कार्यालयलाई लक्षित गर्दै विभिन्न पोस्टहरू गरेका थिए। उनले निर्णयमा चलखेल भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने अख्तियारमा उजुरी समेत हालेका थिए। यही कारणले उनी तथ्यहीन, अपमानजनक, गालीगलौजपूर्ण र भ्रम फैलाउने नियतले सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका थिए।
युवराज सफलको पक्राउ नयाँ समाचार भने होइन। उनी बारम्बार पक्राउ परिरहन्छन्, तर जति पटक पनि उनी अरूलाई तथ्य र प्रमाण बिना आरोप लगाउन रोक्दैनन्।