Shares
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक टिप्पणीहरूलाई एक–एक गरेर जवाफ दिन थालेका छन्। फेसबुकमा आफ्ना पोस्टमा आलोचनात्मक कमेन्ट गर्नेहरूलाई ओलीले “यो भिडियो हेर्नुस्” भन्दै रिप्लाई गरिरहेका छन्।
पछिल्लो समय ओलीका फेसबुक पोस्टहरूमा निरन्तर नकारात्मक टिप्पणीहरू देखिन थालेका छन्। ‘नो ओली–ओन्ली बालेन’ लेख्ने ट्रेन्ड नै चलेको छ। ओलीको सामाजिक सञ्जालको कमेन्ट बक्स ‘नो ओली’ र ‘ओन्ली बालेन’ भन्ने टिप्पणीले भरिएको देखिन्छ। विशेषगरी एमाले अध्यक्ष ओली र एमालेका अन्य नेताहरूले गर्ने फेसबुक पोस्टहरूमा यस्ता कमेन्टहरू धेरै देखिन थालेका छन्।
यसरी लगातार आलोचना आउन थालेपछि ओलीले कमेन्टको जवाफ दिन सुरु गरेका हुन्। उनले कमेन्टमा रिप्लाई गर्दै हेर्न आग्रह गरेको भिडियोमा जेन–जी आन्दोलनको दिन आफूले गोली चलाउन आदेश नदिएको स्पष्टिकरण दिएका छन्।
गत भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा युवाहरूमाथि गोली चलाइएपछि नेपाली जनता ओलीप्रति आक्रोशित भएका थिए। त्यसयता ओलीका सामाजिक सञ्जाल पोस्टहरू आलोचनात्मक टिप्पणीहरूले भरिँदै आएका छन्। ओलीले भने पटक–पटक स्पष्टीकरण दिँदै आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन्। तर हाल अधिकांश नेपाली जनता उनको विपक्षमा देखिएका छन्।
यतिबेला देशमा चुनावी माहोल तातिएको छ। झापा क्षेत्र नम्बर ५ बाट निरन्तर चुनाव जित्दै आएका ओलीलाई यसपटक चुनाव जित्न कठिन हुने आँकलन गरिएको छ। काठमाडौंका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएर ओलीसँग प्रतिस्पर्धा गर्न झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। झापाका स्थानीय बासिन्दाहरू पनि “नयाँ शक्तिलाई पालो दिनुपर्छ” भन्दै बालेनको समर्थन गरिरहेको देखिन्छ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन साहले ओलीसँग एउटै मञ्चमा उभिएर सार्वजनिक बहस गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। सामाजिक सञ्जालमा ओलीको पोस्टमा कमेन्ट गर्दै उनले ओलीसँग एउटै मञ्चमा उभिँदा जेन–जी आन्दोलनमा ७६ जनाको हत्या भएको घटनामा आफू पनि सामेल भएको ठहरिने तर्क गरेका थिए। बालेनले ओलीलाई “देश जलाउने नेता”को रूपमा स्वीकार गर्नुपर्ने टिप्पणी गरेका छन्। उनका अनुसार २३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको आरोप पनि लगाएका छन्।
यसअघि ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको भन्दै स्टाटस लेखेका थिए। तर बालेनले सो प्रस्तावलाई सिधै अस्वीकार गरेका छन्। यसपटक ओली र साह एउटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धा गर्दैछन्।
पटक–पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरिसकेका केपी शर्मा ओलीको पूरा नाम खड्गप्रसाद शर्मा ओली हो। उनी मोहनप्रसाद ओली र आमा स्वर्गीय मधु ओलीको कोखबाट वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा–२ मा जन्मिएका हुन्। हाल उनी अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी बासिन्दा हुन्। तर पछिल्लो जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित घरमा आगजनी भएपछि उनी गुन्डुमा घर भाडामा लिएर बस्दै आएका छन्।
वि.सं. २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। उनी २०२८ सालको झापा आन्दोलनका एक पात्र हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सालसम्म जेल जीवन बिताउन बाध्य भए। उनले कुल १४ वर्ष जेल जीवन बिताएका छन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209