काठमाडौँ । मूलपानी क्षेत्रमा मध्यराति भएको प्रहरी कारबाहीमा गोली चलेको छ र लुटपाटमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन्। कारबाहीका क्रममा एक जना लुटेरा गोली लागेर घाइते भएका छन् भने दुई जना प्रहरी पनि मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।
काठमाडौँ प्रहरी परिसरका अनुसार घटना गएराति करिब १२:१५ बजे भएको हो। प्रहरी टोलीले मूलपानीमा चेकपोइन्ट राखेर सवारी साधन जाँच गरिरहेको बेला मोटरसाइकलमा आएका समूहले ड्युटीमा रहेका प्रहरीलाई ठक्कर दिएर भाग्न खोजेपछि प्रहरीले बाध्य भएर गोली चलाएको जनाएको छ।
प्रहरीको गोली लागेर घाइते भएका युवकसहित १० जनालाई नियन्त्रणमा लिइएको छ। ठक्करबाट घाइते भएका प्रहरी सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गोली लागेका युवकको स्वास्थ्य अवस्था पनि सामान्य छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू काठमाडौँका विभिन्न स्थानमा भएका लुटपाटका घटनामा संलग्न समूह हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।