काठमाडौं । एक महिनादेखि बेपत्ता रहेकी एक युवतीको शव बाँकेको डडुवा गाउँपालिकामा इनारभित्र सडेको अवस्थामा फेला परेको छ। प्रारम्भिक खोजबिनपछि सामान्य बेपत्ता घटनाजस्तो देखिए पनि अनुसन्धान अगाडि बढ्दै जाँदा यो घटना योजनाबद्ध हत्या भएको खुलेको छ।
डडुवा गाउँपालिका–३ बनकट्टीस्थित राम फेरन कुर्मीको घर पछाडि रहेको वर्षौंदेखि प्रयोगविहीन इनारमा १ माघ बिहान साढे १० बजे स्थानीयले सडिसकेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले इनारबाट शव निकाले पनि अत्यधिक सडेकाले तत्काल पहिचान गर्न कठिन भएको थियो।
कपडा र गहनाको आधारमा मृतक सोही स्थानकी २१ वर्षीया बसन्ती गोडिया भएको पुष्टि भयो। पोस्टमार्टमका क्रममा टाउको र घाँटीमा गहिरो चोट देखिएको र ती चोटकै कारण मृत्यु भएको उल्लेख भएपछि प्रहरीले घटनालाई हत्या मानेर अनुसन्धान अघि बढायो।
परिवारका अनुसार गोडिया करिब एक महिनाअघि मामा घर जान भन्दै घरबाट निस्केकी थिइन्। तर अनुसन्धानमा उनी भारतको नानापारा स्थित मामा घर नगएको खुलेको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए।
अनुसन्धानकै क्रममा गोडिया करिब एक वर्षदेखि छिमेकी २५ वर्षीय राकेश बर्मासँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। प्रहरीका अनुसार प्रेम सम्बन्धकै विषयमा विवाद भएपछि बर्माले राति करिब ११ बजे युवतीलाई बोलाएर नजिकैको बारीमा लगेको र त्यहीँ टाउकामा प्रहार गरी हत्या गरेको स्वीकारेका छन्। पछि शव इनारमा फालिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न प्रेमीलाई पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ।