Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन जी आन्दोलनमा नउत्रिएकोमा शृङ्खला खतिवडाको पछुतो, भन्छिन, "भ्रष्टाचारको छानबिन मेरै घरबाट सुरु गरियोस्"

जेन जी आन्दोलनमा नउत्रिएकोमा शृङ्खला खतिवडाको पछुतो, भन्छिन, "भ्रष्टाचारको छानबिन मेरै घरबाट सुरु गरियोस्"

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले जेन–जी आन्दोलनमा सहभागी हुन नसकेकोमा आफूलाई पछुतो लागेको बताएकी छन्। हालै एक टिभी कार्यक्रममा बोल्दै उनले सधैं आफूलाई भ्रष्टाचारको ट्याग लगाइने गरेको भन्दै त्यसको छानबिन आफ्नै घरबाट सुरु गर्न आग्रह गरिन्।

श्रीन्खलाले भनिन्, “यदि मेरो परिवारबाट कसैले पनि भ्रष्टाचार गरेको प्रमाण भेटियो भने सबैभन्दा पहिले म आफैं माफी माग्छु।” उनले आफू र आफ्नो परिवारमाथि बारम्बार उठाइने आरोपले मानसिक रूपमा थकित बनाएको पनि खुलासा गरिन्।

केही समयअघिसम्म श्रीन्खला खतिवडालाई देशको शानका रूपमा हेरिन्थ्यो। उनी युवावर्गकी आइडल थिइन्। तर पछिल्लो समय भने उनी एकाएक घृणाको पात्र बन्दै गएकी छन्। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा उनका श्रीमान्को घर र माइती घरमा आगजनी गरिएको थियो। यही घटनापछि उनलाई ‘नेपो किड्स’ को ट्याग दिइयो।

श्रीन्खलाका बुवा विरोध खतिवडाको राजनीतिक पृष्ठभूमिका कारण उनी पनि विवादमा तानिएकी हुन्। विरोध खतिवडा २०३५ सालदेखि सक्रिय राजनीतिमा लागेका नेता हुन्। उनी पहिलोपटक २०४८ सालमा सांसद बनेका थिए। त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको आम निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित भएका थिए। करिब ३० वर्षअघि नै सांसद भइसकेका उनी कोरोनाकालमा पहिलोपटक स्वास्थ्य मन्त्री बनेका थिए। सोही समयमा कोरोना खोप खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि त्यसको असर श्रीन्खलामाथि पनि परेको बताइन्छ।

जेन–जी आन्दोलनका क्रममा घरमा आगजनी भएपछि श्रीन्खलाले भिडियो सन्देश जारी गर्दै आफू निर्दोष रहेको स्पष्टिकरण पनि दिएकी थिइन्। तर त्यसपछि पनि आरोप र आलोचना कम हुन सकेन।

मिस नेपाल रहँदा ब्लगर सिसन बानियासँग नाम जोडिएकी श्रीन्खलाले कान्तिपुरका मालिक सम्भव सिरोहियासँग विवाह गरेपछि उनलाई अवसरवादी भन्दै आलोचना सुरु भएको थियो। कतिपयले सिसनलाई धोका दिएको आरोपसमेत लगाए। यही आक्रोश जेन–जी आन्दोलनका बेला हिंसात्मक रूपमा प्रकट भएको देखिन्छ।

यही कारण हालै एक टिभी कार्यक्रममा पुगेकी श्रीन्खलाले आफू र आफ्नो परिवारले कुनै पनि भ्रष्टाचार नगरेको स्पष्ट पार्दै, बारम्बार सफाइ दिँदै हिँड्दा आफू थकित भएको भावुक अभिव्यक्ति दिएकी हुन्।