काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको सम्भावना देखिएका सात वटा व्यक्ति र निकायलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ। आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार यसमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय समावेश छन्।
नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकलाई सामाजिक सञ्जालमा प्रतिद्वन्द्वी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण सामग्री प्रसारण गरेकी हुन् कि भन्ने विषयमा स्पष्टीकरण मागिएको छ। त्यसैगरी श्रम संस्कृति पार्टीले बालबालिकालाई दलको प्रतीक अङ्कित टिसर्ट लगाएर प्रचार गरेको घटनाबारे पनि जवाफ सोधिएको छ।
आयोगले जनसेवा पार्टीका अर्का उम्मेदवार कमल भुसाल, नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ, आधारभूत विद्यालय श्रीसिया लगायतका निकाय तथा उम्मेदवार महेश बस्नेत र बालेन्द्र शाहलाई पनि विभिन्न उजुरीका आधारमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। उजुरीहरूमा जातीय, सांस्कृतिक, व्यक्तिगत वा सामाजिक संवेदनशील विषयमा उल्लङ्घनको आशंका देखिएको उल्लेख छ।
निर्वाचन आयोगले यसअघि आचारसंहिता उल्लङ्घनको सम्भावना देखिएका आठ निकायलाई स्पष्टीकरण सोधिसकेको थियो। यसपटक थप उजुरीपछि १५ वटा निकाय र व्यक्तिबाट जवाफ मागिएको छ, तर अहिलेसम्म केवल एक निकायले मात्र जवाफ पेस गरेको छ।