काठमाडौँ । आज बिहान गरिएको सरप्राइज चेकिङमा ९३ जना सवारी चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
सार्वजनिक सवारी साधन, पानी ट्याङ्कर, फोहोर बोक्ने सवारी साधन, एम्बुलेन्स र स्कुल बसलाई लक्षित गरी चेकिङ गरिएको थियो । चेकिङका क्रममा मदिरा पिएर सवारी साधन चलाउने १५ जना चालकहरू कारबाहीमा परेका छन् ।
जसमध्ये मदिरा सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने ११ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र वृत्तहरूमा पठाइएको छ ।
बस चालक ६ जना, स्कूल बस चालक २ जना, हाइस माइक्रो चालक २ जना, जेसिबि चालक १ जना रहेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतद्वारा उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङले बिहानको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।