काठमाडौं । जमल क्षेत्रमा आज दिउँसो भएको सवारी दुर्घटनाले भयावह अवस्था सिर्जना गरेको छ। चार वटा सवारीसाधन आपसमा ठोक्किएपछि एक्कासि आगो बल्दा केही समयका लागि पूरा क्षेत्र नै तनावग्रस्त बनेको थियो।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएका सवारीसाधन ठोक्किँदा एउटा गाडीबाट सुरु भएको आगो छेउका अन्य सवारीमा समेत फैलिएको थियो। दुर्घटनामा चारदेखि पाँच जना घाइते भएको प्रारम्भिक विवरण आएको छ, जसलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
आगो सडकको बीचमै फैलिएपछि जमलदेखि दरबारमार्गसम्मको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भयो। सूचना पाएलगत्तै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका छन्।
हालसम्म मानवीय क्षतिको औपचारिक पुष्टि नभए पनि सवारीसाधनमा उल्लेख्य क्षति पुगेको प्रहरीले जनाएको छ।