काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएसँगै सहरमा नयाँ खालको चर्चा सुरु भएको छ। बालेन बाहिरिनासाथ सार्वजनिक स्थानबाट कुर्सी हटाउन थालिएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलियो र कार्यवाहक प्रमुख सुनिता डंगोलमाथि आलोचना पनि भयो। तर महानगरले यो दाबीलाई असत्य भएको जनाएको छ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका अनुसार सार्वजनिक स्थानमा राखिएका कुर्सी हटाइँदै होइन, बरु व्यवस्थित र सुधार गर्ने काम अघि बढाइएको हो। सडक किनार, पार्क तथा नदी करिडोरमा रहेका पुराना र जीर्ण कुर्सी मर्मत, रंगरोगन गरिने र आवश्यक ठाउँमा संख्या थपिने विभागको भनाइ छ। एकै स्थानमा फरक–फरक प्रकारका कुर्सी हुँदा देखिने अव्यवस्था हटाउन एकरुपता कायम गर्ने तयारी पनि गरिएको छ।
विभाग प्रमुख सुरेश राईले पैदल यात्रुको उमेर, शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर सुधारका काम थालिएको बताए। उनका अनुसार पहिले राखिएका स्थानबाट कुर्सी हटाउने योजना छैन, आवश्यक परे साटफेर गरेर व्यवस्थापन मात्र गरिनेछ।
यसअन्तर्गत सिंहदरबार–भद्रकाली सडकखण्डमा रहेका फलाम र काठ मिश्रित कुर्सी मर्मत भइरहेका छन्। पहिले राखिएका बेञ्च यथास्थानमै राखिने र यत्रतत्र सारिने समस्या पनि समाधान गरिने महानगरको भनाइ छ।
महानगरको सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले संयुक्त रूपमा यो काम गरिरहेका छन्। २०८१ असोजमा सहरका विभिन्न स्थानमा १४० वटा सार्वजनिक कुर्सी राखिएका थिए, जसको प्रतिकुर्सी लागत करसहित १८ हजार ६५५ रुपैयाँ रहेको छ। दोस्रो चरणमा थप ४९ कुर्सी प्राप्त भइसकेका छन् भने तेस्रो चरणमा १५० वटा कुर्सी थपिने योजना छ। यी सबै कुर्सी माग र आवश्यकता हेरेर सहरका विभिन्न स्थानमा राखिने महानगरले जनाएको छ।