काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनाले एक परिवारमा शोक छाएको छ। म्याग्दे–४ कोलडाँडामा जीप अनियन्त्रित भएर सडकबाट तल खस्दा १३ वर्षीया किशोरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग३च ५८३८ नम्बरको जीप करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी कोइस्का घर्तीलाई बिहान ८:४० बजे प्रदेश अस्पताल दमौली पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही स्थानका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार जारी छ। प्रहरीका अनुसार जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।