Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाबुराम भट्टराईसहित ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, चौधरीको उम्मेदवारी खारेज

बाबुराम भट्टराईसहित ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै देशभरबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि देशभरबाट ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए भने ५ जनाविरुद्ध दाबी–विरोध परेको थियो।

निर्वाचन आयोगका प्रवक्ताका अनुसार, दाबी–विरोधमा परेका मध्य १ जनाको उम्मेदवारी खारेज भएको छ भने अन्य ४ जनाको यथावत रहेको छ। आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ।

चौधरी ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर भइ जन्मकैदको सजाय काटिसकेका थिए। पछि राष्ट्रपति कार्यालयबाट सजाय माफी भएपनि, उम्मेदवारीको लागि आवश्यक सफाइ प्रमाण नदेखिएका कारण निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो। कैलाली–१ का निर्वाचन अधिकृत देवराज भारतीका अनुसार चौधरीविरुद्ध उम्मेदवारी दर्ता भएको दिन नै दाबी–विरोध परेको थियो। आयोगले अदालतको अन्तिम फैसला र प्रतिनिधि सभा निर्वाचन ऐनको प्रावधान अनुसार खारेज निर्णय गरेको हो।

टीकापुर घटनामा, २०७२ भदौ ७ गते थरुहट आन्दोलनको क्रममा कैलालीमा हिंसात्मक झडप भएको थियो। यस घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो। अदालतले चौधरीलाई यस घटनाको मुख्य योजनाकार ठहर गरेको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको थियो। उम्मेदवारले नाम फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सक्नेछन्। त्यस्तै, माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगले यसअघि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना निर्वाचित हुने व्यवस्था छ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा कुल २५७ जनाको उम्मेदवारी दर्ता भएको छ। सबैभन्दा धेरै उम्मेदवारी निर्वाचन क्षेत्र नम्बर १ मा दर्ता भएको छ, जहाँ मात्रै ३० जनाले मनोनयन दर्ता गरेका छन्।