Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा उम्मेदवार आशिका तामाङले धादिङ–१ बाट उम्मेदवारी फिर्ता लिदै

रास्वपा उम्मेदवार आशिका तामाङले धादिङ–१ बाट उम्मेदवारी फिर्ता लिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छन्। उनले निर्वाचन अधिकृतलाई सम्पर्क गरी उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गरेकी हुन्।

सो विषय सामाजिक सञ्जालमा जर्मनीको स्थायी आवसीय अनुमति (पीआर) लिएको कुराको फोटो सार्वजनिक भएपछि बाहिर आएको थियो। यस विवादपछि तामाङले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोनमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिन लागेको जानकारी गराएकी छन्। उनी केहीबेरमा स्वयम् कार्यालयमा उपस्थित भएर औपचारिक रूपमा प्रक्रिया पूरा गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

आशिका तामाङले प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची २२ अन्तर्गत फारम भरी इमेलमार्फत निर्वाचन अधिकृतलाई आफ्नो निर्णय पठाएकी छन्। इमेलमा उनले लेखेकी छन्:

“उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएकाले राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु।”

उनको उम्मेदवारी विवादमा तानिनुको मुख्य कारण जर्मनीको स्थायी आवसीय अनुमति सार्वजनिक हुनु भएको थियो। यसरी विवाद उत्पन्न भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिन इमेल र फोनमार्फत प्रक्रिया अघि बढाएकी हुन्।

पछिल्लो समय सामाजिक अभियन्ताको रुपमा लोकप्रिय बनिरहेकी आशिका तामाङले रास्वपाबाट धादिङ–१ मा टिकट पाएकी थिइन्। प्रारम्भमा उनी स्वतन्त्र भएर चुनाव लड्ने तयारीमा थिइन्, तर घण्टी चिन्हबाट चुनाव लड्दा राम्राे हुने देखेर रास्वपा रोजेकी थिइन्। उनले चुनावमा रास्वपा सबै क्षेत्र जित्ने अपेक्षा राखेकी पनि थिइन्।

तर, अहिले भने उनी उम्मेदवारी फिर्ता लिन निष्कर्षमा पुगेकी छन्। यसअघि उनका विरुद्ध उजुरी दर्ता भएको भन्ने समाचार सार्वजनिक भए पनि निर्वाचन कार्यालयमा पत्ता लाग्यो कि आशिका तामाङविरुद्ध कुनै उजुरी दर्ता भएको छैन। उजुरी दर्ता गर्ने प्रयासमा पनि ठोस प्रमाण नभएको कारण प्रक्रिया अघि बढेन।

त्यसअघि, टिकट पाउने दिन पनि केही कार्यकर्ताले धादिङमा उनी उम्मेदवार बनाएर प्रचार गर्न नसकिने भन्दै विरोध जनाएका थिए। विगतमा आशिकाले धादिङका होटेलहरूले ग्राहक ठग्ने गरेको भन्दै भिडियोहरू बनाएकी थिइन्। सोही कारणले कार्यकर्ताले सार्वजनिक रूपमा विरोध जनाएका थिए।

आशिका तामाङले सदनमा आवाजविहीनहरूको आवाज पु¥याउन सांसद बन्न खोजेको बताउँदै आइरहेकी छन्।