काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछ्याउँदै नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा आयोजना गर्ने भएको छ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरी यो सभा आयोजना गर्न लागेको स्रोतले जनाएको छ। अहिले पार्टीले चुनाव केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ, र यही क्रमअनुसार मधेस सभा आयोजना गरिएको हो।
सभाका लागि कांग्रेस सभापति गगन थापासहित अन्य नेताहरू माघ ११ गते मधेस पुग्ने कार्यक्रम तय गरिएको छ। केही दिनअघि रास्वपाले जनकपुरमा चुनावी सभा आयोजना गरेको थियो, जसमा ठुलो जनसागर उपस्थित भएको थियो। रास्वपाको सभामा मधेसमा अहिलेसम्मकै धेरै जनता सहभागी भएका थिए। बालेन शाहको समर्थनमा यहाँका नागरिकहरू ‘अब कि बार बालेन सरकार’ भन्ने नारा लगाउँदै रास्वपालाई समर्थन गरिरहेका थिए।
अब नेपाली कांग्रेसले पनि मधेस प्रदेशमा चुनावी सभा र कार्यक्रमहरू आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। गगन थापा काठमाडौँ छाडेर मधेस पुगेका छन् र भावी प्रधानमन्त्री बन्ने दौडमा रहेका छन्।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाइएको छ। पुस ३० गते सम्पन्न विशेष महाधिवेशनमा गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो। बैठककै दिन सभापति थापासहित अन्य पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार भएका छन्। काठमाडौं–४ बाट पटक-पटक चुनाव जितेका थापाले यसपटक मधेस क्षेत्रलाई प्राथमिकतामा राख्दै चुनावी अभियान सुरु गरेका छन्। भावी प्रधानमन्त्री घोषणा गर्दै मधेसमा चुनावी अभियान अघि बढाउने क्रममा थापाले तीनपटक जितेको काठमाडौं–४ क्षेत्र छोडेको बताएका छन्।