काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् ।
काठमाडौं उपत्यकामा उपलब्ध नवनिर्वाचित केन्द्रीय समितिका सदस्यसहित आजै केन्द्रीय समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
“प्राविधिक कारणले हामी पार्टी मुख्यालय जान सकेका थिएनौँ । अहिले पनि एकदुईवटा कोठा मर्मत गर्न लगाएर मुख्यालय जान लागेको हो,” कांग्रेसका प्रवक्ता देवराज चालिसेले भने, “पार्टी मुख्यालय नजानुको अन्य कुनै कारण छैन ।”
केन्द्रीय समिति बैठकबाट केही नयाँ घोषणा गर्ने सम्भावना रहेको उनले बताए ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गएको पुस ३० गते थापा सभापति बनेका थिए । त्यसपछि बानेश्वरस्थित अर्पण बैंक्वेटमा नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवार बनेका छन् ।