काठमाडौँ । रास्वपा प्रवेश गरेका एमाले नेता कमल गैरे फेरि नेकपा एमालेमै फर्किएका छन्। राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका सचिव गैरे कमिटीको सचिव पद छोडेर रास्वपा प्रवेश गरेका थिए। बालेन शाहलाई जिताउन रास्वपा प्रवेश गरेका गैरे २४ घन्टा नबित्दै पुनः एमालेमै फर्किएका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै आफ्नो पुनः पार्टीमा फर्किएको जानकारी दिएका छन्।
गैरेले फेसबुकमा लेखेका छन्,
“म कमलप्रसाद गैरे, विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीको सदस्य, उपसचिव, सचिवको भूमिका निर्वाह गर्दै आएको छु। म पार्टीको संगठित सदस्य रहँदै विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु।
हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखिए पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हो भनी ठानेको हुँ।
आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले उहाँलाई जिताउनका लागि म यही पार्टी तथा संगठनमा रहँदै अभियानलाई पूरा गर्ने संकल्पसहित प्रतिबद्ध छु।”
पछिल्लो समय थुप्रै एमाले नेताहरू रास्वपामा प्रवेश गरिरहेका छन्। यससँगै अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू पनि रास्वपा भित्रिएका छन्। यसले देखाउँछ कि रास्वपामा जनतासँगै अन्य पार्टीका नेताहरूमा पनि ठूलो क्रेज छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न क्षेत्र, भूगोल र अभियानबाट नयाँ सदस्यहरूलाई स्वागत गर्ने क्रम जारी राखेको छ। पार्टीका अनुसार, यो अभियानलाई “नयाँ पुस्ता र नयाँ सोचसहितको स्वच्छ राजनीतिप्रतिको जनविश्वास विस्तार गर्ने अभियान”को रूपमा अघि बढाइएको छ।