काठमाडौँ । रवि लामिछाने र बालेन शाहबीच एकता गराउन महत्वपूर्ण भूमिका खेलेका आसिफ साह र असिम साह दाजुभाइ नै अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। रवि–बालेन एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य लिएको भए पनि यी दुईलाई जोड्ने मुख्य पात्रहरू भने टिकटविहीन बनेका छन्।
साह दाजुभाइको बालेन शाहसँगको निकटता पुरानै हो। बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएपछि असिम साह उनको चुनावी अभियानमा सक्रिय रूपमा जोडिएका थिए। त्यसपछि रवि लामिछानेले रास्वपा गठन गर्दा असिमलाई पार्टीमा समेटे। २०७९ सालको आमनिर्वाचनमा असिम मुस्लिम क्लस्टरबाट समानुपातिक सांसदसमेत बनेका थिए।
बालेनसँग उत्तिकै घनिष्ठ सम्बन्ध भएका दाइ आसिफ साह भने सुरुमा सक्रिय राजनीतिमा थिएनन्। उनी आफ्नै मनोरञ्जन क्षेत्रमा क्रियाशील थिए। तर यसपटकको राजनीतिक परिस्थितिले आसिफलाई पनि राजनीतिमा ल्यायो। देशका दुई सर्वाधिक लोकप्रिय युवा नेता फरक–फरक पार्टीबाट चुनाव लड्ने अवस्था देखेपछि परम्परागत राजनीतिक शक्तिहरू उत्साहित भएका थिए। वैकल्पिक शक्तिको मत बाँडिएर अन्ततः आफूहरूकै प्रभाव कायम रहने उनीहरूको अनुमान थियो। यही अवस्था नआओस् भन्ने उद्देश्यले साह दाजुभाइले रवि र बालेनलाई मिलाउने पहल थालेका थिए। यो प्रयास ‘जेन–जी आन्दोलन’पछि तीव्र भएको बताइन्छ।
किन छुटे त साह दाजुभाइ ?
चुनावका लागि दलहरूले मनोनयनपत्र दर्ता गरिसकेका छन् भने समानुपातिकतर्फको बन्दसूची पनि बुझाइसकेका छन्। तर साह दाजुभाइ न त बन्दसूचीमा परे, न त प्रत्यक्ष प्रतिस्पर्धामै देखिए।
यसअघि रास्वपाको समानुपातिक बन्दसूचीमा आसिफ साह समेटिएका थिए। मुस्लिम पुरुष क्लस्टरमा उनलाई पहिलो नम्बरमा राखिएको थियो, जसले उनलाई सांसद निर्वाचित हुने लगभग निश्चित बनाएको थियो। तर सामाजिक सञ्जालमा दाजु–भाइ पालैपालो समानुपातिक सांसद बन्न खोजेको आरोप उठेपछि आसिफ पछि हटे। उनले बन्दसूचीबाट नाम फिर्ता लिँदै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरे।
तर अन्ततः उनले प्रत्यक्षतर्फ पनि टिकट पाएनन्। आसिफलाई बालेन शाहको कोटाबाट बन्दसूचीमा राखिएको थियो। प्रत्यक्षतर्फ उनले रोजेको काठमाडौं–५ मा बालेनले अस्मित पोखरेललाई अघि सारेपछि आसिफले फेरि एकपटक ‘त्याग’ गर्नुपर्यो।
अर्कोतर्फ असिम साह भने पार्टीको विधानका कारण रोकिएका थिए। आसिफ बन्दसूचीमा परिसकेपछि असिमलाई सांसद बन्न रास्वपाको विधानले अनुमति दिँदैन थियो। पार्टीको विधानअनुसार एउटै परिवारका सदस्य एकै पदमा जान नमिल्ने व्यवस्था छ। दाइ आसिफ सांसद बन्ने भएपछि असिम संसद्को दौडमा नलाग्ने निर्णयमा पुगे। प्रत्यक्षतर्फ पनि उनले दाबी गरेनन्।
तर अन्ततः परिस्थितिले यस्तो मोड लियो कि रवि–बालेन एकताका मुख्य सूत्रधार बनेका साह दाजुभाइ दुवै जना नै यसपटकको चुनावी दौडबाट बाहिरिन पुगे।