Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकारिताबाट राजनीतिमा आएका ऋषि धमलाका चुनावी प्रचार चर्चामा

पत्रकारिताबाट राजनीतिमा आएका ऋषि धमलाका चुनावी प्रचार चर्चामा

काठमाडौँ । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका ऋषि धमलाले पछिल्लो समय अनेक प्रकारका हर्कत गर्न थालेका छन्। कहिले जेरी पकाइरहेका, कहिले काठ काटिरहेका, त कहिले साइकल चढेर हिँडिरहेका उनी कहिलेकाहीँ ट्र्याक्टर चलाइरहेको अवस्थामा पनि देखिन्छन्। चुनावी प्रचारका क्रममा जनतासँग भोट माग्न हिँडिरहेका धमलाका यस्ता गतिविधि धेरैलाई हास्यास्पद लागिरहेका छन्। यसो भन्न सकिन्छ भोटकै लागि उनी जे पनि गर्न तयार देखिन्छन्। यही कारणले अहिले धमला सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा हाँसोको पात्र बनिरहेका छन्।

पत्रकार ऋषि धमलाले केही दिनअघि मात्र औपचारिक रूपमा पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका हुन्। प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीबाट मोबाइल चुनाव चिह्न लिएर उनी रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। धादिङ घर भएका धमला आम जनता पार्टीका उम्मेदवार हुन्।

रौतहट–४ क्षेत्रलाई एउटै नेताले पटक–पटक चुनाव नजित्ने क्षेत्रका रूपमा चिनिँदै आएको थियो। तर २०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएपछि यो मान्यता तोडिएको थियो। २०७९ को निर्वाचनमा तिमिल्सिनाले एमालेका उद्धवप्रसाद रेग्मीलाई पराजित गरेका थिए। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा तिमिल्सिना विजयी भएका हुन्। उक्त निर्वाचनमा तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्दा रेग्मीले २६ हजार ५५९ मत ल्याएका थिए।

त्यसैगरी, २०७४ सालको निर्वाचनमा तिमिल्सिनाले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका डा. वंशीधर मिश्रलाई पराजित गरेका थिए। त्यतिबेला तिमिल्सिनाले २८ हजार २२८ मत ल्याउँदा मिश्रले २३ हजार ६ मत प्राप्त गरेका थिए।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत नेपाली कांग्रेसले ल्याएको थियो। कांग्रेसले १४ हजार २१८ मत प्राप्त गर्दा एमालेले ११ हजार २३१ मत ल्याएको थियो। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ हजार ३१९ मत र चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ९ हजार १७९ मत पाएको थियो। त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ६ हजार २०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ हजार ७०७ मत प्राप्त गरेको थियो।

गत निर्वाचनमा यस क्षेत्रको समानुपातिकतर्फ तेस्रो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी हाल एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेका छन्। त्यतिबेला प्राप्त मतलाई आधार मान्ने हो भने यसपटक नेकपाको मत संख्या सर्वाधिक हुन सक्ने आँकलन गरिएको छ। २०७९ मा प्रभु साह स्वतन्त्र उम्मेदवार बनेकाले उनका समर्थकको केही मत समानुपातिकतर्फ माओवादी केन्द्रमा गएको हुन सक्ने अनुमान छ, किनकि माओवादीले रौतहट–३ मा प्रभु साहलाई सहयोग गरेको प्रचार भएको थियो।

यसपटकको निर्वाचनमा आम जनता पार्टीका ऋषि धमलासँगै रौतहट–४ बाट यसअघि दुई पटक विजयी भएका कांग्रेसका देवप्रसाद तिमिल्सिना, एमालेबाट रामजी साह, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमार भट्टराई उम्मेदवार छन्। भट्टराई २०७० सालमा एमालेबाट निर्वाचित भएका थिए। त्यस्तै, रास्वपाबाट गणेश पौडेल उम्मेदवार छन्।

रौतहट–४ निर्वाचन क्षेत्रमा चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिकाका वडा नम्बर २, ३, ४, ८ र ९ तथा गढीमाई नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ पर्दछन्।