काठमाडौँ । निर्वाचनको माहोल नजिकिएसँगै प्रशासनले २१ फागुनसम्म इजाजत प्राप्त हतियार बुझाउन सार्वजनिक आग्रह गरेको छ। गृह मन्त्रालयको निर्देशनमा देशका ७७ जिल्लामा सूचना जारी गरिएको हो।
प्रशासनका अनुसार, निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण हुन सक्छ, त्यसैले सबै हतियार समयमै बुझाउनुपर्ने बताइएको छ। यसअघि पनि प्रत्येक निर्वाचनअघि प्रशासनले यस्तो सूचना जारी गर्दै आएको छ।
साथै, गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता ल्याउने काम प्रहरीले अघि बढाइरहेको छ। मंगलबार गृहमन्त्री ओमप्रकाश अर्यालले माघभित्र अधिकांश हतियार फिर्ता ल्याउने प्रयास भइरहेको जानकारी दिएका थिए।