उत्साहजनक र शान्तिपूर्ण रूपमा देशभरका १६५ निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गगनकुमार थापाले विद्रोह गरी पार्टी नेतृत्व हत्याउँदै शेरबहादुर देउवाको विरासत अन्त्य गरेका छन्। भने गगनको विद्रोहलाई निर्वाचन आयोगले मान्यता दिएको छ। र अब कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। यसैगरि रवि बालेनको मिलनपछि रास्वपाको बरिष्ठ नेता बनेका बालेन शाहले ओलीलाई चुनौती दिदै भावि प्रधानमन्त्रीका रुपमा अघि सरेका छन । ओलीको पकड क्षेत्र मानिने झापा–५ मा जसले जिते पनि एक जना ‘भावी प्रधानमन्त्री’ पराजित हुने निश्चित छ।
यता, विवादै विवादका बिच चितवन–२ बाट तेस्रोपटक उम्मेदवारी दिएका रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारी दिएकै दिन पर्सा जिल्ला अदालतले उनीसँग एक करोड धरौटी माग गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २० वटा वामपन्थी घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन्। पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राणाबिच झापा–२ मा रोचक भिडन्त हुने देखिएको छ।
त्यस्तै, मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कुलमान घिसिङ काठमाडौँ–३ बाट उम्मेदवार बनेका छन्। चितवनमा रेण्ुा र सोवितको भिडन्त हुदै गर्दा भक्तपुरमा महेश बस्नेत र रास्वपाका राजिब खत्री बिच भिडन्त हुने छ । यसरी देशका केही ठाउको चुनावी माहाले गज्जबको बन्ने देखिएको छ । यसैबिच आज प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।
उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखिसाँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ।
उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन्। निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए। उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।