Shares
Shares
काठमाडौँ । नेपाल जनसेवा पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी छन्। उनको पार्टीको चुनाव चिह्न ‘जुत्ता’ रहेको छ। सामाजिक सञ्जालमा सक्रिय पाठकले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्।
उम्मेदवारी दर्ताका क्रममा पाठकले ‘जेन–जी आन्दोलन’को विम्बका रूपमा जुत्ता अंकित सेतो साडी लगाएकी थिइन्, जसले उपस्थितको ध्यान खिचेको थियो।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पाठकले सरकारी निकायहरूले अन्यायको आवाज नसुनेपछि सदनमै गएर आवाज उठाउने निर्णय गरेको बताइन्। उनले भनिन्,
‘अन्यायको आवाजका लागि बोल्नैपर्छ। हिजोसम्म म सडकमा बोलेँ, तर सरकारका निकायहरूले नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर उम्मेदवारी दर्ता गराएकी हुँ।’
भक्तपुर–२ मा यसअघि नै नेकपा एमालेका महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री र नेकपाका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले उम्मेदवारी दर्ता गराइसकेका छन्।
शोभा पाठक यसअघि एमाले नेता महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी थिइन्। उनले सो विषयमा प्रहरीदेखि अदालतसम्म उजुरी दिएकी छन् र सामाजिक सञ्जालमा लाइभ बसेर विभिन्न आरोपहरू पनि लगाउने गरेकी छन्। पाठकले आफूलाई बस्नेतले अपार्टमेन्टमा राखेर यौन शोषण गरेको दाबी गरेकी थिइन्।
यता बस्नेत निकटहरूले पाठकलाई ‘हनी ट्र्यापर’ भन्दै सामाजिक सञ्जालमा आलोचना र ट्रोल गर्ने गरेका छन्। धादिङकी पाठक पारिवारिक तथा सामाजिक चरित्र हत्या गरेको आरोपमा पटक–पटक प्रहरी नियन्त्रणमा समेत परेकी छन्।
महेश बस्नेतविरुद्धको बलात्कारसम्बन्धी उजुरीमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रमाण नपुगेको जिकिर गरेको थियो। सो निर्णयविरुद्ध पाठकले पाटन उच्च अदालतमा निवेदन दिएकी छन्।
यसैगरी, जेन–जी आन्दोलनपछि खेलकुदमन्त्री बनेका बब्लु गुप्तामाथि पनि पाठकले आरोप लगाएकी थिइन्। केही महिना अघि उनले गुप्ताले महेश बस्नेतसँग मिलेर आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको दाबी गरेकी थिइन्।
भक्तपुर–२ मा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उम्मेदवार बनाएको छ। जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध निरन्तर आलोचना गर्दै आएका थिए। त्यसकै पृष्ठभूमिमा साहको समर्थनमा खत्रीलाई अघि सारिएको बुझिएको छ।
पूर्व सञ्चारकर्मी खत्री र बस्नेतबीच सामाजिक सञ्जालमा लामो समयदेखि वाकयुद्ध चल्दै आएको छ। खत्रीले तीखा टिप्पणी गर्दा बस्नेतले पनि नामै लिएर जवाफ दिने गरेका छन्। उनीहरूबीचको यही कटुता चुनावी मैदानमा पनि देखिने निश्चित छ।
भक्तपुर–२ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं–१० का बासिन्दा हुन्। गत आम निर्वाचनमा बस्नेत पराजित भएका थिए। खत्री भने पहिलोपटक चुनावी राजनीतिमा होमिएका हुन्। यसै निर्वाचनमा शोभा पाठकको प्रवेशले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
उल्लेखनीय छ, शोभा पाठक र राजीव खत्री दुवै महेश बस्नेतको विरोधमा चुनावी मैदानमा उत्रिएका छन्। भक्तपुर–२ बाट अघिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209