Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चितवन–२ बाट रवि लामिछानेको उम्मेदवारी, अदालतका कारण वारेसमार्फत दर्ता

चितवन–२ बाट रवि लामिछानेको उम्मेदवारी, अदालतका कारण वारेसमार्फत दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेस नाममार्फत उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिएका छन्।

लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत पर्सामा उपस्थित हुनुपरेकाले समयमा चितवन पुग्न नसकेपछि उनले वारेस नाममार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तासँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,
‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर विडम्बना, यो उत्साहमा म पूर्ण रूपमा मिसिन सकिरहेको छैन। किनकि आजै देशका तीनवटा अदालत—पर्सा, काठमाडौं र रुपन्देही—मा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ। अरू अदालतको आदेश आउँदै होला। म भर्खरै पर्सा जिल्ला अदालतबाट निस्किएको छु।’

उनले चितवन–२ मा आफ्ना शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै सम्भव भएसम्म आफैँ उपस्थित हुने प्रयास गरेको तर नसकेमा वारेसमार्फत मनोनयन दर्ता गरिने बताएका थिए। साथै उनले लेखेका छन्,
‘ममाथि गरिएको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिनेछन्। देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण तिमीहरू रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ।’

लामिछानेले सहकारीसँग आफू असम्बन्धित रहेको दाबी गर्दै भनेका छन्,
‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नसकिने मुद्दा लगाइयो। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु—चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु, म अभिमन्यु होइन।’

यसैबीच, पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सो बराबरको धरौटी माग गरेको हो।

गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।