काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्तिमपटक चुनाव लड्न लागेको खुलासा गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि प्रचण्डले आफू सांसद जित्नका लागि मात्रै रुकुम पूर्व नआएको बताएका छन्। उनले भने,
‘रोल्पाबाट सुरु भएर रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ। यो आफैँमा एउटा रेकर्डजस्तो बनेको छ। केन्द्रीय आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर, केन्द्रीय आधार इलाकाकै रूपमा स्थापित रुकुममा आएर उम्मेदवार दिनु मेरो लागि गर्वको विषय हो।’
उनले जनयुद्धका बेलाका सबै स्मरणहरू अहिले पनि मन–मस्तिष्कमा ताजा रहेको उल्लेख गर्दै, यो निर्वाचन प्रत्यक्ष चुनावको अन्तिम हुन सक्ने संकेत गरेका छन्।
आगामी फागुन २१ को निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बनेका प्रचण्डका लागि संसदीय राजनीतिमा प्रवेश गरेपछि यो पाँचौँ निर्वाचन हो। संसदीय राजनीतिमा बिरलै देखिने अभ्यास गर्दै आएका प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए र दुवै क्षेत्रबाट विजयी भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बने। यस निर्वाचनमा काठमाडौंबाट पराजित भए भने सिराहाबाट झिनो मतले विजयी भए।
२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन–३ बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भए। २०७९ सालको निर्वाचनमा कांग्रेसको समर्थनमा गोरखा–२ बाट उम्मेदवार बनेका प्रचण्ड त्यतिबेला पनि विजयी भएका थिए।
यस पटक प्रचण्ड रुकुम पूर्व पुगेका छन्, जुन क्षेत्र उनको लागि आधार इलाकाजस्तै मानिन्छ। यसअघिका चारवटै निर्वाचनमा त्यहाँबाट माओवादी उम्मेदवार विजयी भएका थिए। २०७२ सालमा संविधान जारी भएपछि रुकुम जिल्ला विभाजन भई पूर्वी रुकुम लुम्बिनी प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशमा परेको थियो।
पश्चिम रुकुमबाट जनार्दन शर्मा निरन्तर विजयी हुँदै आएका छन्। यसपटक शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन्। प्रचण्डको अर्को संयोग भनेको, हरेक निर्वाचनसँगै पार्टीको नाम पनि परिवर्तन हुँदै आएको छ।