काठमाडौँ । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एमालेका कार्यकर्ताबीच झडप भएको छ। यो झडप एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि सुरु भएको बताइएको छ। अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ।
झापा–५ बाट उम्मेदवारी दर्ता गर्न रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट केही समय अघि मात्रै उम्मेदवारी दर्ता गराएका थिए।
उनी पहिलो नम्बरमा दर्ता भएका उम्मेदवार हुन्। उनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन्। निकै तामाझाम र बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेनका समर्थकले ठूलो भिड जम्मा गरेका थिए। बालेन शाहले मनोनयन दर्ता गरेपछि केपी ओली पनि मनोनयन दर्ता गर्न जाने तयारीमा थिए, तर त्यही क्रममा झडपको स्थिति सिर्जना भएको हो।
रास्वपा उम्मेदवार बालेन्द्र शाहले दमक–८ स्थित कृषि भवनबाट मनोनयन दर्ता गरेर फर्किने क्रममा दुई पार्टीका कार्यकर्ताबीच धक्कामुक्की भएको थियो। दमकको मुख्य चोकस्थित आकाशेपुलछेउमा दुवैतर्फबाट हातपात भएको हो।
आकाशेपुलस्थित उत्तरपट्टिबाट र्यालीको तयारी गरिरहेका एमाले कार्यकर्तासँग रास्वपाका कार्यकर्ताको मुठभेड भएको थियो। मनोनयन दर्ता गर्न जाने क्रममा रहेका र दर्ता गरेर फर्किएका कार्यकर्ताबीच हातहालाहाल भएपछि प्रहरीले छुट्याउने प्रयास गरिरहेको छ। अहिले दुवै पक्षका कार्यकर्ता एकअर्कामा आक्रोशित देखिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीच धकेलाधकेल हुँदै घम्साघम्सी भएको थियो। सो क्रममा रास्वपाका केही युवाले ढुङ्गा प्रहार गरेपछि वातावरण थप तनावग्रस्त बनेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय दमकले गोलचोक, दमक चोक र निर्वाचन अधिकृतको कार्यालय आसपासको क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ।
प्रहरीका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। “सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य छ,” एक प्रहरी अधिकारीले बताए।