Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गगन थापा सर्लाही–४ बाट चुनावी मैदानमा, अमरेश सिंहसँग कडा भिडन्त तय

गगन थापा सर्लाही–४ बाट चुनावी मैदानमा, अमरेश सिंहसँग कडा भिडन्त तय

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं–४ त्याग्दै मधेश प्रदेशको सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेका छन्। लामो समयदेखि काठमाडौं–४ बाट चुनाव लड्दै आएका थापा यसपटक प्रत्यक्ष प्रतिस्पर्धाका लागि नयाँ क्षेत्रमा उत्रिएका हुन्।

सर्लाही–४ मा थापाको मुख्य प्रतिस्पर्धा कांग्रेसकै अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग हुने भएको छ। २०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह निर्वाचित भएका थिए। उनी सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

यस क्षेत्रबाट नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ। सर्लाही–४ मा थापाको उम्मेदवारीबारे अघिल्लो निर्वाचनमै चर्चा चलेको थियो, त्यसबेला सिंहले आफूलाई टिकट नदिनुमा थापाको भूमिका रहेको आरोप लगाएका थिए।

गत निर्वाचनमा सिंहले २० हजार १७ मतसहित जित हात पारेका थिए भने कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए। त्यस चुनावमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव तेस्रो र जसपा नेपालका राजेशकुमार मिश्र चौथो भएका थिए।