काठमाडौँ । अभिनेत्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्मामाथि ‘अवसरवादी’ भएको आरोप लागेपछि उनले त्यसको प्रतिवाद गरेकी छन्। रास्वपाकै नेतृ विश्वकर्माले देश र जनताको हितका लागि काम गर्दा लाग्ने अवसरवादीको आरोप आफूलाई स्वीकार्य हुने बताएकी छन्।
पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी रिमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छिन्। उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुँदा रिमालाई दलित महिला क्लस्टरतर्फ समानुपातिक सांसदको सूचीमा पहिलो नम्बरमा राखिएको थियो। पछि कुलमान घिसिङ नेतृत्वको पार्टी रास्वपाबाट अलग भए पनि रिमाले भने रास्वपामै रहने निर्णय गरेकी थिइन्।
यही निर्णयलाई लिएर उनलाई पद र अवसरका लागि पुरानो साथ छोडेको भन्दै आलोचना हुँदै आएको छ। यसैक्रममा रास्वपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूविरुद्ध लागेको आरोपबारे प्रतिक्रिया दिएकी हुन्।
उनले भनिन्,
‘जनताको प्रतिनिधि पात्र भएपछि उचित समयमा देश र जनतालाई केन्द्रमा राखेर निर्णय लिन सक्नुपर्छ। चाहे त्यो राजनीतिक संकट होस् वा नैतिक चुनौती, जनताको एकताको चाहनालाई मध्यनजर गर्दै मैले रास्वपाबाटै अघि बढ्ने निर्णय गरेकी हुँ।’
रिमाले आफूलाई राजनीतिमा प्रवेश गर्ने र नेतृत्व लिने अवसर दिएकोमा कुलमान घिसिङप्रति आभार पनि व्यक्त गरिन्। उनले उज्यालो नेपाल पार्टीले दिएको जिम्मेवारी र अवसरलाई अझै प्रमाणित गर्न बाँकी नै रहेको उल्लेख गरिन्। हाल उनी रास्वपाका विभिन्न चुनावी सभा तथा कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी भइरहेकी छन्।
सांसद बन्नु नै अन्तिम उद्देश्य हो भन्ने प्रश्नमा उनले आफ्नो मूल लक्ष्य देशलाई राजनीतिक निकास दिनु रहेको स्पष्ट पारिन्। उनले भनिन्,
‘अन्तिम उद्देश्य यो देशलाई राजनीतिक निकास दिनु हो। त्यो प्रक्रियामा जहाँ पुग्नुपर्छ, हामी सबै त्यहाँसम्म पुग्न जरुरी हुन्छ।’
उज्यालो नेपाल पार्टीमा पुनः नफर्किएको विषयमा सोधिएको प्रश्नमा उनले राजनीति व्यक्तिको चाहनाले मात्र नभई राज्य व्यवस्था र प्रक्रियाले निर्देशित हुने बताइन्।
उनको भनाइ थियो, ‘त्यो अवसरमा म एक प्राविधिक अन्योलतामा परेको थिएँ, तर त्यसलाई मैले टुंगो लगाइसकेँ।’
उज्यालो नेपाल पार्टीले रास्वपासँग चुनावी सहकार्य गर्दा रिमा विश्वकर्मा रास्वपामा आबद्ध भएकी थिइन्। पछि कुलमान घिसिङसहितको टोली पुनः उज्यालो नेपाल पार्टीमै फर्किए पनि रिमाले भने रास्वपामै रहेर राजनीतिलाई निरन्तरता दिने निर्णय गरेकी हुन्। यही कारण हाल उनीमाथि अवसरवादीको आरोप लागिरहेको छ।